काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको २ लाख ८७ हजार ५०० कित्ता शेयर आजबाट विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले यही चैत २० गतेभित्र गोप्य शिलबन्दीमार्फत बोलपत्र पेस गर्नुपर्नेछ ।
यी शेयरको मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्दै आवेदन पेस गर्नुपर्नेछ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताले चैत १३ गतेपछि कम्पनीबाट प्रस्ताव हुने हकप्रद शेयर र लाभांश प्राप्त गर्न योग्य हुने जानकारी समेत कम्पनीले दिएको छ ।
शेयर खरीदका लागि बोलपत्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय, थापाथली, काठमाडौंबाट प्राप्त गर्न र बुझाउन सकिनेछ ।
कम्पनीले यी शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्री खुला गरेको हो ।