काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ को लागि हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८३ करोड ९४ लाख १० हजार रूपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश सहित दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि कम्पनीले वैशाख ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । नेवा ब्याम्बो कटेज, हरिसिद्धि , ललितपुरमा विहान ८ बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो ।
उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारण शेयरधनीको तर्फबा सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।