विज्ञापनको समानुपातिक वितरणप्रणाली सम्बन्धी निर्देशिका –२०६९ लागू हुने भएको छ । सरकारले चैत १ गतेबाट निर्देशिका लागू गर्ने निर्णय गरे पनि यसविरुद्ध परेको रीट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकाले लागू हुन सकेको थिएन । तर, सोमवार सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र सुशीला कार्कीको संयुक्त इजलाशले यसअघि भएको अन्तरिम आदेश खारेज गरेपछि निर्देशिका स्वत: लागू हुने भएको हो ।
नेपाल विज्ञापन संघ र त्यसका सदस्य कम्पनीहरूले निर्देशिका खारेज हुनुपर्ने मागसहित फागुन ११ गते निवेदन दायर गरेका थिए । निवेदकले माग गरेबमोजिम निर्णय हुनुपर्ने वा नपर्ने विषयको टुङ्गो अन्तिम सुनुवाइले गर्ने भएकाले हाल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चको आदेश छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागलाई विपक्षी बनाई दायर भएको सो निवेदनमा फागुन २० गते न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलाशले अन्तरिम आदेश गरेको थियो ।
वर्ष ८, अंक १९४, सोमवार १८ चैत, २०६९