विराटनगर । वार्षिक साढे चार अर्ब रुपैयाँभन्दा बढीको प्लाइउड निकासी गर्दै आएका मुलुकका ७५ उद्योग संकटमा परेका छन् । कच्चापदार्थको रूपमा रहेको भेनियर (काठका पातला पाता)को अभाव हुन थालेपछि यस्ता उद्योगको ३७ अर्ब ५० करोड बराबरको लगानी जोखिममा पर्न थालेको छ । केही वर्ष अघिसम्म भारतीय प्लाइउडमा निर्भर नेपाली बजार पछिल्लो समय यसमा आत्मनिर्भर बनेको थियो ।
नेपाली प्लाइउड उद्योगले स्वदेशी उपभोक्ताको माग धानेर निर्यात समेत गर्दै आएका थिए । तर अहिले भेनियरको आपूर्तिमा देखिएको समस्याले यस्ता उद्योग प्रभावित हुन थालेका छन् । नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले भेनियर उद्योगले कच्चापदार्थ भारतका उद्योगलाई दिन थालेपछि यहाँका उद्योग संकटमा परेको बताए ।
भारतीय प्लाइउडका ठूला कम्पनीले भेनियर उद्योगसँग सोझै सम्पर्क गरेर दैनिक ५० ट्रकसम्म भेनियर भारत लैजान थालेका छन् । प्लाइउड उद्योगले वर्षायाममा उद्योग सञ्चालनका लागि भेनियर भण्डारण गर्ने गरेका थिए । तर अहिले ‘स्टक’ राख्न नसकिएकाले वर्षायाममा उद्योग सञ्चालन अनिश्चित बनेको अध्यक्ष घिमिरेले बताए । भन्सार विभागको तथ्यांक अनुसार भारत लगायत मुलुकमा प्लाइउडको निकासी बढेको छ । आर्थिक वर्ष २०७८/२०७९ मा प्लाइउड, प्लसडोर र ब्लकबोर्ड २७ करोड ६६ लाख ७२ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । आर्थिक वर्ष २०७९/२०८० मा यस्ता वस्तु ४ अर्ब ६८ करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको निकासी भएको छ भने चालू आर्थिक वर्ष २०८०/२०८१ को फागुन मसान्तसम्ममा ४ अर्ब ८६ करोड ८६ लाख २६ हजार रुपैयाँ बराबरको निकासी भएको छ ।
नेपालका प्लाइउड उद्योगमा दुई हजार ५ सय जना प्रत्यक्ष रोजगार रहेको संघले बताएको छ । यस्ता उद्योगले कच्चापदार्थ नपाएर चल्न नसक्ने अवस्था आए नेपालमा पुन: भारतीय प्लाइउडले नै बजार पाउने र यहाँको लगानी तथा रोजगारी गुम्ने चिन्ता घिमिरेको छ । यस्तो अवस्था आउन नदिन १० वर्षअघि सरकारले भेनियर निकासीमा लगाएको प्रतिकिलो ६ रुपैयाँ भन्सार बढाएर १२ रुपैयाँ पुर्याउन संघले माग गरेको छ । ‘भेनियर उद्योग पनि बाँच्नुपर्छ र प्लाइउड उद्योग पनि बाँच्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ,’ घिमिरेले भने ।
सरकारले तयारी प्लाइउडको निकासीमा नगद अनुदान दिने निर्णय गरेपछि उद्योगीले गत आर्थिक वर्षदेखि निर्यातलाई प्राथमिकता दिएका हुन् । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको कार्यकालमा प्लाइउडको निर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय सरकारले गरेको थियो । पहाडी क्षेत्रमा पाइने उत्तिस, चिलाउने, कदम, आँप, आस्ना, कर्मा लगायत काठको भेनियरबाट प्लाइउड निर्माण हुन्छ, जुन झ्यालढोकाका पल्ला, पार्टेसन र फर्निचर निर्माणमा प्रयोग हुन्छ । कोशी भेनियर संघ, इटहरीका अध्यक्ष पिताम्बर गौतमले आफूहरूले सहज रूपमा भेनियर निकासी गर्न पाउनुपर्ने माग राखेको बताए । यसका लागि जिल्ला प्रशासन कार्यालय, सुनसरीका तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जानकारी उनले दिए । नेपाली प्लाइउड उद्योगको मनोमानीका आफूहरू भेनियर निकासी गर्न बाध्य भएको उनले बताए ।
नेपालका प्लाइउड उद्योगले भेनियर उद्योगबाट लिएको कच्चापदार्थको भुक्तानी नियमित नगर्ने, कतिपय प्लाइउड उद्योगले आफै भेनियर उत्पादन गर्ने र भेनियर निकासीमा समेत निरुत्साहन गर्न सरकारलाई किलोमा २० रुपैयाँसम्म भन्सार बढाउन माग गरेपछि भेनियर उद्योग र प्लाइउड उद्योगको व्यावसायिक सम्बन्ध बिग्रिएको हो । कोशी प्रदेशमा ४० ओटा भेनियर उद्योग छन् ।
‘भारतीय बजार हाम्राका लागि स्थायी होइन,’ अध्यक्ष गौतमले भने । नेपाली प्लाइउड उद्योगले यहाँ भेनियर उद्योगलाई कच्चापदार्थको समयमै भुक्तानी गर्ने हो भने आफूहरू भारतीय बजारमा जानु नपर्ने उनले बताए ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/२०७९ मा नेपालबाट चीनमा २४ लाख ४५ हजार रुपैयाँ बराबरको भेनियर निकासी भएको देखिन्छ । आर्थिक वर्ष २०७९/२०८० मा ४ करोड १० लाख २८ हजार बरबरको भेनियर भारत निकासी भएको छ । त्यसैगरी चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा २९ करोड ३१ लाख १२ हजार रुपैयाँ बराबरको भेनियर भारत र चीनमा निकासी भएको छ । भेनियर उद्योगले भारत र चीनमा बजार पाउनु सकारात्मक भए पनि यहाँका प्लाइउड उद्योगलाई कच्चापदार्थको समस्या हुन थालेको छ । भेनियर उत्पादक संघ मेचीका अध्यक्ष दीपक पाण्डेले पछिल्लो समय विभिन्न कारणले व्यवसायी पलायन हुन थालेको अवस्थामा निकासी कर बढाएर २० रुपैयाँ बनाउन प्लाइउड उद्योगीले लबिङ गर्नु दु:खद भएको बताए । यसलाई आफूहरूले भेनियर व्यवसायीमाथि गरिएको आक्रमणको रूपमा लिएको उनले बताए ।
कोर भेनियर (भेनियर पाता)को भारत निकासी दररेट प्रतिकेजी ६ रुपैयाँबाट घटाएर ३ रुपैयाँ कायम गर्नुपर्ने माग उनले गरे । स्वदेशका प्लाइउड उद्योगमा खपत हुन नसक्ने भएकाले भारतमा मात्र होइन, तेस्रो मुलुकमा समेत भेनियर निकासीको वातावरण सरकारले बनाइदिनुपर्ने उनले बताए ।