काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९४ दशमलव ९१ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ६३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको खराब कर्जा संकलन बढेसँगै खुद नाफा बढेको हो । गत वर्ष ४० लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ६२ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको छ । कम्पनीले सम्भावित जाखिम शिर्षकमा यस वर्ष १० लाख रूपैयाँभन्दा बढी रकम छुट्याएको छ । सञ्चालन नाफा भने गत वर्षको तुलनामा करिब १२१ प्रतिशत बढी भएको हो । गत वर्ष ६० लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ करोड ३३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रूपैयाँ रहेको छ भने जगेडा कोष रकम ५ करोड ७९ लाख रूपैयाभन्दा बढी रहेको छ । कर्जा सापटी गत वर्षभन्दा ३० दशमलव ३४ प्रतिशत बढी १ अर्ब २७ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको कर्जा प्रवाह भने २४ प्रतिशत बढी १ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी भएको छ । निक्षेप संकलन भने करिब १८ प्रतिशत बढी ३ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव २५ प्रतिशत रहेकोमा यस वर्ष घटेर १ दशमलव ४७ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी वार्षिक १७ रूपैयाा २८ पैसा रहेको छ प्रतिशेयर नेटवर्थ १६० रूपैयाँ ८० पैसा छ ।