काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमवार राति नयाँ सरकार बनाउने सहमति भएपछि मंगलवार (आज) शेयर बजारमा उछाल देखिएको हो ।
आज नेप्से परिसूचक २ दशलमव २९ प्रतिशत बढेर २ हजार १ सय दशमलव ४३ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ४७ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ ।
यस दिन कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन रू. २ अर्ब ९९ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ५७ करोड बराबरको कारोबार भएको छ ।
अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएको जानकारहरू बताउँछन् । यसो त नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्व, आर्थिक सुधारसँगै पूँजी बजारमा पनि नीतिगत सुधार हुने लगानीकर्ताको अपेक्षा छ ।
आज शेयर बजार खुलेको १ मिनेटमै नेप्से ४ प्रतिशत बढेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । सोपश्चात खुलेको बजार १६ सेकेण्डमा नै अर्को एक प्रतिशत बढेर शेयर कारोबार पुनः ४० मिनेटका लागि बन्द भयो ।
त्यसलगतै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने समाचार बाहिरिएसँगै नेप्सेमा तेस्रो सर्किट भने लागेन । यद्यपि, बजार दिनभर नै सकारात्मक रह्यो ।
आज ३१५ धितोपत्रको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर ६० हजार ७२० पटकमा रू. ४ अर्ब ५७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये हिमालयन डिष्टिलरीको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव ५४ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २४६ पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ९६ प्रतिशत बढेर रू.२ हजार ७८० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ४६ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१५ दशमलव ६० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा हिमालय उर्जा विकास कम्पनी छ । कम्पनीको शेयर मूल्य ६ दशमलव २१ प्रतिशत घटेर रू. २८१ मा कायम भएको हो ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले अोगटेको छ । यस कम्पनीको रू. १२ करोड ३३ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६८० दशमलव ५० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा गुडवील फाइनान्सको रू. ११ करोड १० लाख बराबरको भएको हो ।
यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । त्यस्तै व्यापार समूहको सूचक ३ दशमलव १२ प्रतिशत र बैंकिङ्ग समूहको सूचक ३ दशमलव ०३ प्रतिशत वृद्धि भएको छ ।