काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शुरूङ छेड्ने काम बुधवार सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७, कानढुंग्रीमा एक समारोहबीच टनेल बोरिङ मेशिन (टीबीएम) को स्विच थिचेपछि शुरूङ खन्ने काम पूर्णरूपमा सकिएको हो ।
शुरूङ यो परियोजनाको मुख्य अंश हो । आधुनिक मेशिनको प्रयोग गरी शुरूङ खन्ने काम तोकिएको म्यादअगाडि नै सकिएको आयोजना कार्यालयले जानकारी दिएको छ । नेपालमा ठूला पूर्वाधार निर्माणको काम विभिन्न कारणले लम्बिरहँदा यो राष्ट्रिय गौरवको आयोजनाको काम भने तोकिएको म्यादअघि नै सकिने सरकारी अधिकारी बताउँछन् ।
शुरूङ निर्माण गर्न करीब २ वर्ष लाग्ने भने पनि १९ महीनामै काम सकिन लागेको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । शुरूङ छेड्ने काम सकिए पनि आयोजना सञ्चालनमा आउन १ वर्ष जति कुनुपर्ने उनले बताए । ‘भौगोलिक समस्याका कारण ब्रेक थ्रु गर्न १९ महीना लागेको हो, नत्र पहिले नै सक्ने योजना थियो । धेरै काम सकिएको छ । केही प्राविधिक परीक्षणलगायत काम बाँकी छ,’ उनले भने ।
२ वर्ष लाग्ने अनुमान गरिएको शुरूङ निर्माण १९ महीनामै सम्पन्न समग्र आयोजनाको काम लक्ष्यभन्दा डेढ वर्ष चाँडो सम्पन्न हुने ।
२०८४ असोजमा यो आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य रहे पनि २०८२ भित्रै काम सम्पन्न हुने बरालको भनाइ छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सिन्धुली र रामेछाप जिल्लाको सिमानाबाट सुनकोशी नदीको पानीलाई शुरूङमार्फत मरिण नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा प्रयोग हुनेछ ।
यो परियोजनाबाट मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा दिने र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाको १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ ।
‘यो रुपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना हो,’ शुरूङ छेड्ने काम सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘यस्तो परियोजना सम्पन्न हुँदा राष्ट्रिय अर्थतन्त्र, उत्पादकत्व र देशमा सम्पन्नता बढ्छ ।’ आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादनसमेत गर्नेछ । यो परियोजनाअन्तर्गत ३१ दशमलव शून्य ७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य छ । विद्युत् प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भइसकेका कारण अन्य केही समस्या नआउने आयोजना प्रमुख बरालले जानकारी दिए । शुरूङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ (कोभेक)ले टनेल बोरिङ मेशिन (टीबीएम) ले शुरूङ खनेको हो ।
आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२, कुसुमटारबाट पसेको टीबीएम सुनकोशी नदीकिनार कानढुंग्रीबाट बाहिर निस्किएको छ । सुनकोशी मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२, कुसुमटारदेखि सुनकोशी–७, कानढुंग्रीसम्म शुरूङ छ । यसको लम्बाइ १३ दशमलव ३ किलोमीटर छ । २२ महीनामा शुरूङ खनिसक्ने लक्ष्य रहेकोमा ३ महीना २ दिनअगावै सम्पन्न भएको छ । एकै दिन ७२ मीटरसम्म शुरूङ खनिएको र चुरे पहाड र महाभारत पर्वत क्षेत्रमा १ महीनामै १ हजार २०० मीटर खनिएको बराल बताउँछन् ।
२०७९ असोज २८ मा शुरू भएको शुरूङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । २०७७ फागुन २० मा कमलामाई–२, कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माण शुरू भएको थियो । उच्च प्रविधिबाट ५ दशमलव ५ डायमीटरको शुरूङमा पानी हाल्न सुनकोशी नदीमा ३० मीटर उचाइ र १५८ मीटर लम्बाइको बाँध निर्माणको काम जारी छ ।
शुरूङ खन्न कोभेकले मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजार रुपैयाँमा ठेक्का सकारेको थियो । १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ लागत अनुमानको शुरूङ खन्न कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।
बाँध तथा विद्युत्गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनीयरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्शनको संयुक्त उपक्रमले ठेक्का पाएको थियो । उक्त उपक्रमले काम गर्न ढिलाइ गरिरहेको आयोजना प्रमुख बरालले बताए । सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुने भएका कारण राजमार्गलाई ९ सय मीटर डाइभर्सन गर्नुपर्ने बताइएको छ । यसका लागि केही बजेट थप्नुपर्छ ।
अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने : प्रधानमन्त्री
सुनकोशी मरिण आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताए । आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्दै बुधवार ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मधेश प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ । यसले राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ ।’
प्रधानमन्त्री दाहालले शुरूङको ब्रेक थ्रुसँगै आयोजनाको बाँकी काम समेत निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिए । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘शुरूङको ब्रेक थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ,’ उनले भने ।
प्राय: सिँचाइ आयोजनामा बजेट अभाव
शुरूङ छेड्ने काम सकिए पनि बजेट अभावका कारण सुनकोशी मरिण डाइभर्सन परियोजनाको ठेकेदारलाई कामको पूरा भुक्तानी दिन नसकिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले बताए । ‘सुनकोशी मात्रै होइन, राष्ट्रिय गौरवअन्तर्गतका प्राय: सिँचाइ आयोजनाले बजेटको चरम अभाव झेल्नुपरेको छ,’ उनले आर्थिक अभियानसँगको कुराकानीमा भने ।
सरकारले सिँचाइ क्षेत्रलाई प्राथमिकतामा राखे पनि व्यवहारमा त्यसअनुसार बजेट नपाइएको उनको गुनासो छ । उनका अनुसार भेरी बबई, सिक्टासहितका आयोजनाहरूको प्रगति सन्तोषजनक नै छ । ती आयोजनाले बजेटको अभाव झेलेका कारण समयमै सकिएनन् । आगामी बजेटमा ती आयोजनालाई राज्यले पर्याप्त बजेट दिनसके छिट्टै सकिने र राष्ट्रिय अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने बताइन्छ ।
विभागका अनुसार सिँचाइसँग जोडेर हेर्दा नेपालमा करीब ३५ लाख ५७ हजार ७०० हेक्टर जमीन कृषियोग्य रहेको अनुमान छ । विकट भौगोलिक बनोट तथा जमीनको अवस्थितिका कारण उक्त कृषियोग्य जमीनमध्ये करीब २५ लाख ३६ हजार हेक्टरमा मात्र सतह र भूमिगत जलस्रोतबाट सिँचाइ सुविधा पुर्याउन सकिने अवस्था छ ।
गत आर्थिक वर्ष (आव) २०७९/८० को अन्त्यसम्ममा कुल सिञ्चित क्षेत्रफल १५ लाख ५५ हजार ५०८ हेक्टर पुर्याउन सकिएको महानिर्देशक बरालले बताए । यसमध्ये सतह सिँचाइबाट १० लाख २२ हजार ७३५ हेक्टर भूमिगत सिँचाइबाट ५३ हजार ६५४ हेक्टर र नयाँ प्रविधि सिँचाइबाट २ दशमलव ११९ हेक्टरमा पानी पुगेको छ ।