काठमाडौं । ट्रेड टावर लिमिटेडले थप सर्वसाधारणमा जारी गरेको आईपीओ असार १ गते आइतवार बाँडफाँट हुने भएको छ । विक्री प्रवन्धक लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले असार १ गते बाँडफँटको मिति तय भए पनि स्थान र समय भने तय हुन बाँकी रहेको जानकारी दिएको हो । कम्पनीले सर्वसाधारणका लागि जेठ १४ गतेदखि २० गतेसम्म ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
सर्वसाधारणले कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा करीब ८ गुणा बढी आवेदन पेश गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले उपलब्ध गराएको तथ्याङ्कअनुसार कम्पनीको आईपीओ खरीदका लागि २१ लाख ६९ हजार ८९१ जनाको आवेदन परेको छ । यी आवेदकहरूबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता शेयर खरीद माग भएको सिडिएससीको तथ्याङ्कले पुष्टि गर्छ ।
ट्रेड टावरले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको छ ।
यो कम्पनी २०७८ साल माघ १२ गतेदेखि निरन्तर सञ्चालनमा रहेको छ । कम्पनीले लिजिङ्ग एण्ड फाइनान्सिङ, प्रोजेक्ट डेभलपमेन्ट, पूर्वाधार विकासका क्षेत्रलगायत होटल, हस्पिटालिटी र पर्यटन क्षेत्रमा समेत काम गर्दै आएको छ । कम्पनीको पहिलो परियोजना काठमाडौंको थापाथलीमा ट्रेड टावर रहेको छ । नेपाल खाद्य संस्थानको जमिन ३० वर्षका लागि लिजमा लिएर नेपालकै सबैभन्दा ठूलो कर्पोरेट कम्प्लेक्ट निर्माण गरी विगत १५ वर्षदेखि सञ्चालनमा रहेको छ ।
कम्पनीले ललितपुरमा भैंसेपाटीमा १९० ओटा अपार्टमेन्ट निर्माण तथा विक्री गरी दोस्रो परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हाल तेस्रो परियोजनको रुपमा गौशाला, काठमाडौंमा पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ रिङरोडमा जोडिएको करिब ४ रोपनी जमीन ३५ वर्षका लागि लिजमा लिएर क्रिष्टल पशुपतिका नाममा ७ तले भवन निर्माण भई आंशिक रुपमा होटल सञ्चालन गरिरहेको छ । कम्पनीले आगामी दिनमा देशका ७ ओटै प्रदेशमा एक-एक ओटा पर्यटनसम्बन्धी परियोजना विकास गर्ने लक्ष्य लिएको छ ।