काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा शनिवार बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डा पारित गरेको बताइएको छ ।
साधारणसभाले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, सभाले कम्पनीको अध्यक्षमा पुन: जगतबहादुर पोखरेललाई निर्वाचित गरेको छ ।
कम्पनीको बोर्ड सदस्यमा दीपक बोहरा, रचितकुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । कम्पनीले लुम्बिनी प्रदेशका ग्रामीण भेगका सर्वसाधारणलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा शुरू गर्ने बताइएको छ ।
सभामा बीमा घुम्ती सेवाका लागि ल्याइएको मोबाइल भ्यानको उद्घाटन गरिएको थियो । कम्पनीका उपकार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठले घुम्ती सेवाले बीमाको पहुँचबाट बाहिर रहेका सर्वसाधारणलाई उनीहरूकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी भुक्तानी प्रक्रियाको बारेमा सचेतनासहितको सेवा दिने बताए ।
गत चैतदेखि औपचारिकरूपमा बुटवलबाट सेवा शुरू गरेको कम्पनीले १ दर्जन शाखा तथा उपशाखामार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।