वैशाख । ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ ।
मङ्गला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मङ्गला गाउँपालिका–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक वि.स. २०६८ मा मार्ग खुलेको थियो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. तीन करोड २७ लाख बजेट बिनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि रु. दुई करोड १७ लाखमा डिभाइन लाईफ–आचार्य–मंगला जेभीले ठेक्का लिएको छ ।
ठेक्का मार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मङ्गला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताए ।
नौ सय ४५ घनमिटर पलम पर्खाल, एक हजार पाच सय ९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र दुई सय २० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको गाउँपालिकाले जनाएको छ ।
सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ ।