काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय समकक्षी खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सोही क्रममा दुवैजनाले आयोजनाको ‘युनिट–२’को संयुक्त रूपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षारोपण समेत गरे ।
अवलोकनका क्रममा मन्त्रीद्वयले ठेकेदार कम्पनीसँग अहिलेसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएको समस्याको बारेमा जानकारी लिएका थिए । ऊर्जामन्त्री खड्काले नेपालको उर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।
'अरुण तेस्रो देशकै महत्त्वपूर्ण जलविद्युत आयोेजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ, सरकारले कुनै कमी हुन दिँदैन, तपाईंहरूले आयोजनालाई चाँडो सम्पन्न गर्न लाग्नुहोस्,' ऊर्जामन्त्री खड्काले भने ।
भारतका विद्युतमन्त्री खट्टरले नेपाल जलविद्युतको क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताए । उनले अरुण तेस्रो जलविद्युत आयोजना चाँडो सम्पन्न गर्नसके दुवै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिए । भारत सरकार नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।
संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना ९०० मेगावाटको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी विस २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । रु एक खर्ब चार अर्ब लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले पाएको छ ।