काठमाडौं देशमा विद्युत् उत्पादन बढेसँगै भान्सामा विद्युतीय चूल्होका प्रयोग बढाउने सरकारी नीति भए पनि जनस्तरमा यसको प्रयागले व्यापकता पाउन सकेको छैन ।
विश्व बैंकले सन् २०१९ मा गरेको सर्वेक्षणअनुसार ४७ दशमलव ६ प्रतिशत घरपरिवारले परम्परागत चूल्हो र २७ प्रतिशतले ग्यास चूल्हो प्रयोग गरेका थिए । विद्युतीय चूल्हो प्रयोग गर्ने घरपरिवारको संख्या शून्य दशमलव १ प्रतिशत मात्र थियो । विद्युतीय चूल्हो आयातको अवस्था हेर्दा पनि यसको प्रयोगले व्यापकता पाउन नसकेको स्पष्ट हुन्छ । सरकारले विद्युतीय चूल्हो प्रयोग गर्न प्रोत्साहन गरे पनि इन्डक्शन चूल्हो प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिँदैन ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ९ महीनामा नेपालले १ लाख १३ हजार ४२४ थान इन्डक्शन/इन्फ्रारेड चूल्हो आयात गरेको छ । खाना पकाउने विद्युतीय चूल्हो आयात गर्दा नेपालबाट चालू आवको ९ महीनामा २४ करोड ६२ लाख ९३ हजार रुपैयाँ बाहिरिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आव २०७९/८० मा २ लाख ६ हजार ६८७ हजार थान इन्डक्शन चूल्हो आयात भएको छ । आव २०७८/७९ मा १ लाख ६७ हजार १७९ थान विद्युतीय चूल्हो आयात भएको थियो । विद्युतीय चूल्हो आयातको वृद्धिद्धर न्यून भएको तथ्यांक हेर्दा नेपालले यसको प्रयोग बढाउन अन्तरराष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता पूरा नहुने देखिएको छ ।
जलवायु परिवर्तन सम्बन्धमा भएको पेरिस सम्झौताअनुसार सन् २०२० मा पेश गरेको प्रतिबद्धताअनुसार सन् २०२५ भित्र विद्युतीय चूल्हो प्रयोग कुल प्रयोग भएको चूल्होको २५ प्रतिशत पुर्याउने लक्ष्य छ । २०७८ सालमा गरिएको जनगणनाअनुसार नेपालमा जम्मा ६६ लाख ६० हजार घरपरिवार छन् ।
यो परिस्थितिमा सरोकारवालाले सरकारी तवरबाटै विद्युतीय चूल्होको प्रयोग बढाउन विशेष पहलको आवश्यकता औंल्याएका छन् ।
बुधवारदेखि शुरू भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ को पहिलो दिन भएको ‘आन्तरिक माग बढाउन इलेक्ट्रिक कुकिङ, विद्युतीय गाडी र अन्य’ विषयक सत्रमा यस क्षेत्रका ज्ञाता डा. जगन्नाथ श्रेष्ठले ग्यास चूल्होको सट्टा विद्युतीयको प्रयोग बढाउन सरकार कसिनुपर्ने बताए ।
‘बिहान र बेलुका खाना पकाउन प्रयोग हुने एलपी ग्यासलाई ५० प्रतिशत मात्रै भए पनि प्रतिस्थापन गर्ने हो भने ४ हजार मेगावाट बिजुली आवश्यक पर्ने प्रक्षेपण गरिएको छ,’ उनले भने ।
सरकारले प्रतिसिलिन्डर ३०० रुपैयाँभन्दा बढी अनुदान दिँदासमेत खाना पकाउने ग्यासको भाउ उच्च रहको भन्दै उनले इन्डक्शन तथा इन्फ्रारेड चूल्होको प्रयोग सस्तो हुने स्पष्ट भइसकेको बताए । झन्डै ३ वर्षदेखि नेपालले वर्षायाममा देशको मागभन्दा बढी बिजुली उत्पादन गर्दै आएको छ । बढी भएको बिजुली भारत निर्यात गर्दै पनि आएको छ । भारत निर्यात नभए बिजुली खेर जाने स्थिति छ । यसले गर्दा स्वदेशमै यसको प्रयोग बढाउनु जरुरी रहेको सरोकारवाला बताउँछन् ।
त्यसैले घरघरमा बिजुली खपत बढाउन सरकारले खाना पकाउने ग्यासको सट्टा इन्डक्शन चूल्होमा अनुदान दिनुपर्ने सरोकारवालाले बताए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सरकारले इन्डक्शन चूल्होलाई अलिकति सहुलियत दरमा घर/घरमा वितरण गर्ने हो भने पनि बिजुली खपत बढाउन सकिने बताए । काठमाडौंमा खपत हुने अवस्था रहेको भन्दै उनले इन्डक्शन चूल्होबाट खाना बनाउँदा सस्तो पर्ने पनि बताए । प्रत्येक घरमा कतिओटा इन्डक्शन चूल्हो दिने र कति ओटामा अनुदान दिने भन्ने कुरा यकीन गरी अनुदान दिँदा बिजुली खपत बढ्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बिजुलीको खपत कहाँ बढाउने भन्ने यकीन हुनुपर्ने बताए । ‘हरेक घरमा आयात गरेको एलपी ग्यास होइन कि हाम्रै बिजुली प्रयोग हुनुपर्छ,’ ढकालले भने, ‘ग्यासलाई इलेक्ट्रिक कुकिङको माध्यमबाट प्रतिस्थापन गर्न अभियान नै चलाउनुपर्छ । यस्तो अभियानलाई निजीक्षेत्रका सबै संस्थाले साथ दिनुपर्छ ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अहिले नेपालमा बिजुली खपत घरेलु प्रयोजनमा मात्रै ६० प्रतिशत हुने गरेको छ । उद्योगमा २२ प्रतिशत, यातायातमा १० प्रतिशत बिजुली खपत भइरहेकाले अझै पनि आन्तरिक माग, खपत बढाउन सकिने प्रशस्त आधार रहेको उल्लेख गरिएको छ ।