विराटनगर । तीन अर्ब रुपैयाँको लगानीमा कोशी प्रदेशमा चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन गरिने भएको छ । नेपाली र चिनियाँ कम्पनीको संयुक्त लगानीमा विराटनगरमा चारपांग्रे विद्युतीय गाडी एसेम्बल गर्ने उद्योग सञ्चालनका लागि सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार सबै काम भएमा एक वर्षपछि उक्त सवारीसाधनको उत्पादन थाल्न सकिने कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले बताए । पहिलो चरणमा स्कूल बस उत्पादन गरिनेछ ।
विद्युतीय बस उत्पादनका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड र कोशी एनके मोटर्स प्रालिबीच यसै हप्ता सम्झौता भएको हो । पुरीका अनुसार यसअघि कोरियाली कम्पनीसँग पनि विद्युतीय सवारी उत्पादनका लागि सम्झौता भइसकेको छ । गाडी एसेम्बल गर्न एकभन्दा बढी देशबाट पार्टपुर्जा आयात गर्नुपर्ने भएकाले कोरियाली र चिनियाँ कम्पनीसँग सम्झौता गरिएको उनले जानकारी दिए ।
चीनको फुजियन प्रान्तमा रहेको उक्त कम्पनीसँग सम्झौता गरिएको हो । सम्झौतापत्रमा कोशी एन के मोटर्सका अध्यक्ष पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन् । गाडी एसेम्बल गर्ने कारखाना मोरङको बुढीगंगा गाउँपालिकामा १५ बिघा क्षेत्रफलमा सञ्चालन हुनेछ ।
सम्झौताअनुसार सबै काम भएमा एक वर्षपछि उक्त सवारीसाधनको उत्पादन थाल्न सकिने कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले बताए । पहिलो चरणमा स्कूल बस उत्पादन गरिनेछ ।
कम्पनीमा शुरूआती चरणमा ३ अर्ब रुपैयाँ लगानी हुने अध्यक्ष पुरीले जानकारी दिएका छन् । उनका अनुसार कम्पनीले विद्यार्थी बससँगै क्रमश: सबै किसिमका चारपांग्रे सवारीसाधन उत्पादन गर्नेछ । ‘कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महीना ७५० ओटा गाडी उत्पादन गर्नेछ,’ पुरीले भने ।
स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीले चारपांग्रे सवारी र त्यसका पार्ट्सको उत्पादन गर्दै आएको छ । उक्त कम्पनीसँगको सहकार्यले नेपालमै गुणस्तरीय र आधुनिक विद्युतीय सवारीसाधन उत्पादन तथा बजारीकरण गर्न मद्दत पुग्ने विश्वास अध्यक्ष पुरीले गरेका छन् ।
दुई वर्षअघि फागुन १२ गते कोरियाको सोलमा कोशी एनके मोटर्स प्रालि र कोरियाको एसडीके मोटर्सबीच नेपालमा विद्युतीय सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौतापत्रमा एनके मोटर्सका अध्यक्ष पुरी र कोरियाली कम्पनीका कार्यकारी अध्यक्ष डेइकी जङले हस्ताक्षर गरेका थिए ।
चिनियाँ कम्पनीसँगको सहकार्यमा पहिलो चरणमा २२ सीटे अत्याधुनिक स्कूल बस उत्पादन गर्ने तयारी रहेको अध्यक्ष पुरीले जानकारी दिए । मागको आधारमा शुरूमा करीब ५ सय थान विद्युतीय स्कूल बस उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । कम्पनीले स्कूल बससहित पब्लिक बस, माइक्रो बस र विद्युतीय कारसमेत उत्पादन गर्ने पुरीले बताए । कम्पनीले उत्पादन गर्ने विद्युतीय गाडी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा ३० प्रतिशत सस्तो पर्ने उनको भनाइ छ ।