नेपालमा सञ्चालित उद्योग–व्यवसायमध्ये वित्तीय क्षेत्र सबैभन्दा विश्वासिलो रहेको नेपाल व्यावसायिक पहल (एनबीआई)ले गरेको एक अध्ययनले देखाएको छ । कुशल सेवा, उच्च मुनाफा, कर्मचारीलाई आकर्षक तलबसुविधा, बलियो नियामक निकायलगायतका विशेषता रहेको वित्तीय क्षेत्र विश्वासिलो हुनु अस्वाभाविक होइन ।
तर, अन्य क्षेत्रले पनि वित्तीय क्षेत्रजस्तै विश्वास हासिल गर्न नसक्नु चाहिँ चुनौतीको विषय हो । किनभने मुलुकमा वित्तीय मध्यस्थता र उत्पादन क्षेत्रको विकास समानान्तर रूपमा हुन सक्यो भने त्यसले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा फाइदा गर्छ । त्यसो हुन सकेन भने मुलुकमा औद्योगिक विकास हुँदैन, रोजगारी सृजना हुँदैन ।
जबसम्म हामीले यी दुई विषय हासिल गर्दैनौं, हाम्रो अर्थतन्त्रको प्रवृत्ति कामदार निर्यात गर्ने र सामान आयात गर्नेभन्दा माथि पुग्न सक्दैन । अर्कातिर, मुलकभित्रै लगानीको प्रशस्त सम्भावना भएका कृषि, ऊर्जा तथा पर्यटन–आतिथ्य सेवाको क्षेत्रले कम मात्र विश्वास आर्जन गर्नुले पनि राम्रो संकेत गर्दैन ।
वास्तवमा मुलुकमा तुलनात्मक लाभ भएका यी क्षेत्रमा लगानीकर्ताहरूको पनि विश्वास मर्दै जाने हो भने त्यसले मुलुकको आर्थिक विकासलाई निकै पछाडि धकालिदिनेछ ।
(सम्पादकीयबाट)
वर्ष ८, अंक १३३, बुधवार, १७ माघ, २०६९