काठमाडौं । यमनमा हुथी विद्रोहीहरूविरुद्ध अमेरिकी सेनाले सञ्चालन गरिरहेको एक महिना लामो सैन्य अभियान अन्तर्गत अहिलेसम्म ८०० भन्दा बढी हवाई आक्रमण भएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डले दिएको जानकारीअनुसार ती आक्रमणहरूमा सयौं हुथी लडाकू र नेताहरू मारिएका छन्, यद्यपि उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।
हुथी समूहका अनुसार, राजधानी साना नजिकैको क्षेत्रमा भएको पछिल्लो रातको अमेरिकी हवाई आक्रमणमा कम्तीमा ६८ जनाको ज्यान गएको छ । यी आक्रमणहरू अमेरिकी सेनाले हुथी समूहका मिसाइल र ड्रोन कार्यक्रमका आधारहरू लक्षित गरी गरेको दाबी गरिएको छ ।
हालसम्मको सबैभन्दा घातक आक्रमण : रस ईसा बन्दरगाह
अप्रिल १८ मा रस ईसा इन्धन बन्दरगाहमा लक्षित अमेरिकी आक्रमणमा ७४ जनाको मृत्यु र १७१ जना घाइते भएको हुथीहरूले बताएका छन् । यो अहिलेसम्मको सबैभन्दा घातक हमला मानिएको छ । अमेरिकी सेनाले इन्धन आपूर्ति बन्द गर्न आक्रमण गरिएको बताउँदै यो हमला हुथीहरूको आर्थिक स्रोत रोक्न गरिएको जनाएको छ ।
आक्रमणको कारण : रेड सागर र इजरायलमाथिको हमला
अमेरिकाका अनुसार, हुथी समूहले रेड सागरमा अन्तर्राष्ट्रिय व्यापारिक जलयातायात र इजरायलमाथि हमला गरी क्षेत्रीय सुरक्षामा खतरा उत्पन्न गरिरहेको छ । अमेरिकाले ‘स्वतन्त्र नौवहन अधिकार’ कायम राख्न तथा हुथीहरूको आक्रमण रोक्न दबाब बढाएको स्पष्ट पारेको छ ।
हुथी विद्रोहीहरू, जसलाई "अन्सार अल्लाह" पनि भनिन्छ । यमनमा सक्रिय शिया मुस्लिम जैदी सम्प्रदायसँग सम्बन्धित सशस्त्र विद्रोही समूह हो । सन् १९९० को दशकमा सादा प्रान्तबाट शुरू भएको यो समूहले शिया समुदायको अधिकार र यमनमा राजनीतिक सुधारको माग गर्दै संघर्ष थालेको थियो । सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेपछि यो समूह देशको प्रमुख शक्तिको रूपमा उदाएको हो ।
इरानबाट सहयोग प्राप्त गरेको आरोप लाग्दै आएको यस समूहसँग साउदी अरब नेतृत्वको गठबन्धन र अमेरिका लगातार संघर्षरत छन् । हुथीहरूले हाल रेड सागरमा अन्तर्राष्ट्रिय जलयातायातमा आक्रमण गर्दै र इजरायलमाथि हमला गर्दै अन्तर्राष्ट्रिय स्तरमा चुनौती खडा गरिरहेका छन् ।
अमेरिकाले इरानलाई हुथी लडाकूहरूलाई निरन्तर समर्थन गरेको आरोप लगाएको छ । केन्द्रीय कमान्डको वक्तव्यमा भनिएको छ, "इरानको समर्थनबिना हुथीहरूले निरन्तर हमला गर्न सक्दैनन् ।"
हुथी समूहले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूबाट बाह्य सूचना प्रवाह रोक्न कदम चालेको छ । आइतवार, हुथीहरूले साटलिङ्क इन्टरनेट उपकरण (उपग्रहमार्फत इन्टरनेट सेवा) प्रयोग नगर्न तथा यस्ता उपकरण तुरुन्तै सुरक्षासम्बन्धी निकायमा बुझाउन आदेश दिएका छन् ।
हुथीहरूले चेतावनी दिँदै भनेका छन्, "यदि कसैले यस्ता उपकरण बेचबिखन, प्रयोग, स्थापना, सञ्चालन वा नियन्त्रण गरेको पाइएमा कडा कानुनी कारबाही गरिनेछ ।"
अमेरिकाले रेड सागरमा ‘यूएसएस ह्यारी एस। ट्रुम्यान’ र अरब सागरमा ‘यूएसएस कार्ल भिन्सन’ नामका दुई विमानवाहक युद्धपोतमार्फत यो सैन्य अभियान सञ्चालन गरिरहेको छ ।
सन् २०२२ मा युएईको अबुधाबी नजिक हुथीहरूले मिसाइल र ड्रोनमार्फत आक्रमण गर्दा तीन जनाको मृत्यु भएको थियो । त्यसपछि हुथी र अमेरिका समर्थित गठबन्धनबीचको संघर्ष झन् चर्किएको हो । युद्धले लामो समयदेखि यमनलाई गम्भीर मानवीय संकटमा पारेको छ, जहाँ लाखौं नागरिक खाद्यान्न, पानी र स्वास्थ्य सेवाको अभावमा छन् । रासस/एपी/एएफपी