काठमाडौं। नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । बैंकले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।
बैंकले देशका सातै प्रदेशमा १९ सयभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको बताएको छ । युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनु पर्ने र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिने ध्येयले जागरुकता अभियान सञ्चालन गर्दै आएको बैंकको भनाइ छ । कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायत विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो । बैंकको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको बताइएको छ । प्रतियोगितामा कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीबीच २ तहमा प्रतिस्पर्धा गराइएको थियो ।