काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त युनिग्लोब कलेजले ४ दिने ‘युनिग्लोब आईटी एण्ड स्टार्टअप मेला-२०२५’ आयोजना गर्ने भएको छ । यही असार ११ गतेदेखि १४ गते (जुन २५-२८) सम्म काठमाडौंको नयाँ बानेश्वरस्थित कलेज परिसरमा हुने ४ दिनको मेला कलेजका विद्यार्थी क्लबहरू युनिग्लोब सेन्टर फर इन्टरप्रिनियरशिप र युनिग्लोब सेन्टर फर आईटी एण्ड इनोवेशनले संयुक्त आयोजना गर्न लागेका हुन् ।
कलेजले यस्ता कार्यक्रमबाट विद्यार्थीहरूमा व्यावसायिक शीप, ज्ञान तथा अनुभव विकास हुने विश्वास लिएको छ । यो मेलाबाट सूचना प्रविधि र उद्यमशीलता प्रवर्द्धन गर्न कलेजले आफ्नो प्रमुख वार्षिक गतिविधिको रुपमा अघि सारेको छ ।
मेलामा २० भन्दा बढी स्टार्टअप र १० भन्दा बढी आईटी कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् । मेलामा सांस्कृतिक प्रदर्शनका अतिरिक्त आईटी र स्टार्टअपमा आधारित स्टलहरू रहनेछन् । मेला १० हजारभन्दा बढी सहभागीहरू उपस्थित हुने अपेक्षा कलेजले राखेको छ ।
मेला सफल बनाउन विभिन्न प्रायोजकहरूले कलेजलाई महत्त्वपूर्ण साथ दिएको कलेजले जनाएको छ । मेलाको टाइटल स्पन्सर मर्कन्टाइल रहेको छ भने गोल्ड स्पन्सर फिनटेक र जेन आई टेक्नोलोजी रहेका छन् भने ‚ एसोसिएट स्पन्सरमा म्याक्स इन्टरनेशनल र ज्वन्तरा रहेका छन् । यसैगरी‚ मिडिया पार्टनरमा ब्रान्ड एड‚ इन्टरनेट पार्टनरमा वर्ल्डलिंक तथा फुड पार्टनरमा नेबिको रहेको छ ।
कलेजका प्रिन्सिपल डा. नरबहादुर बिष्टले युनिग्लोब कलेजका सम्पूर्ण विद्यार्थीसहित अन्य कलेजका विद्यार्थीहरू, अभिभावक, स्थानीय तथा सरोकारवालाहरूलाई मेलामा सहभागी हुनअनुरोध गरेका छन् ।