नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ का लागि १ अर्ब ६४ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आज बसेको १७औँ नगर परिषद्मा उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले प्रस्तावित रु १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६६६ बराबरको आय तथा व्यय प्रस्तुत गरे ।
सो बजेटमध्ये उपमहानगरपालिकाले चालू खर्चतर्फ रु ३८ करोड ५६ लाख ९० हजार, सङ्घीय समपूरक खर्च रु १ करोड २३ लाख ६६ हजार ६६६, प्रदेश समपूरक खर्च रु २ करोड २५ लाख तथा वडा कार्यालयका लागि रु २० करोड खर्च हुने अनुमान गरेको छ ।
साथै आजको नगर परिषद्मा आगामी वर्षको नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको छ । उपमहानगर प्रमुख प्रशान्त विष्टले नगर परिषद्मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई पर्यटकीय शहरमा विकास गर्न नेपालगञ्ज र आसपासका पर्यटकीय क्षेत्रलाई ‘भिजिट वेष्टर्न’ नेपाल कार्यक्रममा आबद्ध गरिने बताए । उनले नेपालगञ्जमा ऐतिहासिक उद्यान निर्माण, तालतलैयाको संरक्षणमा जोड दिँदै जामा मस्जिद, गुरुद्वारा, वागेश्वरी मन्दिर, १०८ फिटे हनुमानगढी परिसरको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले ती क्षेत्रलाई समेटेर धार्मिक सद्भाव सर्किटमा विकास गरिने बताए ।
नेपालगञ्ज उपमहानगरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी जग्गाधनी पुर्जा वितरणका लागि पहल गरिने जानकारी दिँदै नगरप्रमुख विष्टले कृषि क्षेत्रलाई प्राथमिकताका साथ नीति कार्यक्रममा समावेश गरेको उल्लेख गरे ।
नगर परिषद्मा वडाध्यक्षहरू प्रमोद रिजाल, दीपक बर्मा, राजकुमार साहुलगायतले सङ्घीयताको मर्मअनुसार स्थानीय तहले काम गर्न नसकेको गुनासो गरे । रासस