logo
६८ औं राष्ट्रिय सहकारी दिवसको ‘थिम’ सार्वजनिक
६८ औं राष्ट्रिय सहकारी दिवसको ‘थिम’ सार्वजनिक

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसलाई मध्यनजर गर्दै ‘थिम’ सार्वजनिक गरेको छ । महासंघले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस वर्षको सहकारी दिवसको थिम सार्वजनिक गरेको हो, जसअनुसार यस वर्षको थिम ‘मर्यादित सहकारी : समुन्नत समाज’ तय गरिएको छ । 

नेपालमा सहकारी अभियानको औपचारिक थालनी २०१३ चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’का रूपमा मनाइँदै आइएको छ। 

नेपालको पहिलो आधिकारिक सहकारी संस्था बखान सहकारी संस्था, चितवन, २०१३ मा स्थापित भएको थियो । यस ऐतिहासिक घटनाले नेपालको सहकारी अभियानलाई संस्थागत गर्ने आधार तयार गरेको थियो । सहकारीको अवधारणा अनुसार, सामूहिक आर्थिक उन्नति र सामूहिक कार्यशैली नै सहकारी अभियानको मुख्य उद्देश्य हो । 

यसैलाई मध्यनजर गर्दै महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको थिम तय गरेको हो ।

यस वर्षको थिमले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सुसञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिएको महासंघकी अध्यक्ष ओमदेवी मल्लको भनाइ छ । 

महासंघले मुलुकभरका सहकारी संघ(संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई ६८ औं राष्ट्रिय सहकारी दिवसमा तय गरिएको थिममा आधारित रहेर भव्य रूपमा मनाउन र वर्षभरिका क्रियाकलाप सम्पन्न समेत आग्रह गरेको छ ।

करीब ३२ हजारभन्दा बढी सहकारी संघ(संस्थाहरूमा आवद्ध ७३ लाखभन्दा बढी सदस्यको विशाल नेटवर्क रहेको यो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन, वित्तीय पहुँच विस्तार गर्न तथा आर्थिक समृद्धि प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणमा खेलको भूमिका उजागर गर्ने वर्षका रूपमा समेत यो दिवस मनाउन महासंघले अनुरोध गरेको छ । 

अन्तरराष्ट्रिय सहकारी वर्ष २०२५ विश्वभर मनाइरहेको सन्दर्भमा महासंघले संघीय सरकारसँग सहकार्य गर्दै यस दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको महासंघले जानकारी दिएको छ ।

साथै, सम्पूर्ण सहकारी संघ-संस्थाहरूले सुशासन, मर्यादा तथा प्रतिस्पर्धात्मक क्षमताका आधारमा आफ्नो भूमिका प्रभावकारी बनाउन महासंघले अनुरोध गरेको छ । सहकारी अभियानलाई सुदृढ गर्दै समाजलाई आर्थिक रूपमा सक्षम बनाउने दिगो प्रयासमा सबैको सहभागिताका लागि समेत महासंघले अपिल गरेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.