- डेढ अर्ब लगानी, दैनिक उत्पादन क्षमता ७५ हजार वर्गफिट
- भवनको बाहिरी भाग, इको प्यानलदेखि मोडुलर किचेनमा हुन्छ प्रयोग
काठमाडौं । आइएमई समूहको लगानीमा स्थापित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधवार एक कार्यक्रमबीच उक्त उद्योगको उद्घाटन तथा उत्पादन सार्वजनिक गरेका हुन् ।
फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पार्टिशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानललगायत विभिन्न संरचनामा गरिन्छ ।
उद्योगका अनुसार यी बोर्ड लचकदार, आगोप्रतिरोधी, घामपानीले असर नपर्ने, वातावरणमैत्री तथा लामो समय टिक्ने खालका छन् । इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माणसमेत गर्न सकिने र त्यसलाई १० देखि १५ दिनमै तयार पार्न सकिने उद्योगको दाबी छ । डेढ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा स्थापना गरिएको छ ।
प्राकृतिक प्रकोप भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगबाट उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने उक्त उद्योग स्थापना गर्ने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । प्लास्टर वा रङको झन्झट नहुने भएकाले समय र लागत बचत हुने उद्योगको दाबी छ । बुधवार आयोजित कार्यक्रममा मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला भएको बताए । यो उद्योगले आयात प्रतिस्थापन मात्र नगरी निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्याउने उनको भनाइ छ । उनले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिनेसमेत बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोत प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्याउन नयाँ उद्योग स्थापना गरेको बताए ।
‘यसले देशभित्र रोजगारी सृजना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिनेछ,’ ढकालले भने । ‘आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त पनि गर्नेछ ।’ स्वदेशी शीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तरराष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि उनले बताए । उक्त उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित रहेको आइएमई समूहले बताएको छ । उक्त उद्योगले पूर्ण क्षमतामा चल्दा दैनिक ७५ हजार वर्गफिट सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्न सक्छ । उद्योगबाट उत्पादित सिमेन्ट बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध रहेको बताइएको छ ।
उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ । हाल उद्योगमा करीब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएको कार्यक्रममा जानकारी दिइयो । जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार रहेको बताइएको छ ।