तपाईंको खल्तीमा रहेको स्मार्टफोनदेखि अस्पतालको चिकित्सा उपकरण र अत्याधुनिक हतियार प्रणालीसम्मका सबै अत्यधिक सटीक मापन प्रणालीमा भर पर्छन् । मेट्रोलोजी अर्थात् मापन विज्ञानको उद्देश्य हो— पृथ्वीका जुनसुकै कुनामा पनि एउटै मात्रामा एकरूपता कायम राख्नु । यदि पेचिङमा मापन गरिएको १ न्यानोमिटर बर्लिन वा बोस्टनमा पनि एकै हुन्छ भने विश्व प्रविधि चल्न सक्छ ।
२०२५ मेमा चीनले घोषणा गरेको ‘मेट्रोलोजी नेतृत्वको रोडम्याप’अनुसार चीनले सन् २०३० भित्र ५० भन्दा बढी आधारभूत मापन प्रविधिहरू विकास गर्ने र २० वटा विश्वस्तरीय मापन मापदण्डहरू निर्माण गर्ने लक्ष्य लिएको छ । यसको महत्त्व अपार छ । जो मापनको मापदण्ड नियन्त्रण गर्छ, उसले नै प्रविधिको दिशा निर्धारण गर्छ । विशेष ध्यान दिइएको क्षेत्र भनेको क्वान्टम मेट्रोलोजी हो जसमा क्वान्टम भौतिकशास्त्रको प्रयोग गरेर अकल्पनीय सटीकतासहित मापन गर्न सकिन्छ । यस्ता प्रविधि पीपीएसविना नै दिशानिर्देशन गर्न सक्ने क्वान्टम जायरोस्कोप वा अति सानो प्रकाश आवृत्तिहरू मापन गर्ने अप्टिकल फ्रिक्वेन्सी कम्बहरूमा उपयोग हुन्छन् ।
भू–राजनीतिक अर्थ : मापन पनि शक्ति हो
चीनको यो रणनीति अमेरिकासँगको प्रविधि युद्धको सन्दर्भमा झन् महत्त्वपूर्ण देखिन्छ । अमेरिकाले उन्नत चिप्सको चीनतर्फ निर्यातमा रोक लगाउँदा चीनले पनि त्यसको जवाफस्वरूप दुर्लभ खनिजहरूको निर्यात सीमित गरिरहेको छ जुन इलेक्ट्रोनिक्स, रक्षाप्रणाली र हरित ऊर्जा प्रविधिका लागि आवश्यक छन् । मेट्रोलोजी अहिले एउटा वैज्ञानिक सम्प्रभुताको हतियार बनेको छ । जसको हातमा मापन मापदण्डको अधिकार हुन्छ ऊ कुनै पनि उद्योगलाई स्वतन्त्र रूपले प्रमाणित गर्न र संचालन गर्न सक्छ । यो रणनीतिक फाइदाको कुरा हो । अमेरिकाले पनि यसको महत्त्व बुझेको छ । २०२२ मा शुरू गरिएको चिप्स फर अमेरिका कार्यक्रममा मेट्रोलोजी अनुसन्धानमा उल्लेखनीय लगानी गरिएको छ किनभने अतिसटीक मापनविना अति–सूक्ष्म चिप्स बनाउनै सकिँदैन ।
चीनको लक्ष्य : विश्व मापदण्ड निर्माण गर्ने शक्ति बन्ने
चीन अहिले १०० भन्दा बढी नयाँ मापन उपकरण र सन्दर्भ सामग्री विकास गरेर अन्तरराष्ट्रिय मापन संस्थाहरूमा प्रभाव जमाउने तयारीमा छ । यसले जलवायु, स्वास्थ्य सेवा, अन्तरराष्ट्रिय व्यापार, तथा सुरक्षा क्षेत्रमा नयाँ मापदण्ड प्रस्ताव गर्न मद्दत गर्नेछ । उदाहरणका लागि क्वान्टम मेट्रोलोजीको प्रयोगले माइक्रोइलेक्ट्रोनिक्सदेखि औषधि विकाससम्मको क्षेत्रमा क्रान्ति ल्याउन सक्छ । चीनले ती प्रविधिहरूमा लगानी गरेर भविष्यका अर्थतन्त्रमा अग्रणी हुने रणनीति लिएको छ जसका क्षेत्रहरू अहिले जन्मिन बाँकी छन् । यो प्रविधिक दौडमा मापन विज्ञानले निर्णायक भूमिका खेल्दै गएको छ । हामी जतिनै कृत्रिम बुद्धिमत्ता वा क्वान्टम कम्प्युटिङमा केन्द्रित भए पनि अन्ततः कसले कुन प्रविधिको मान्यता पाउँछ भन्ने निर्धारण मापनका नियमहरूले नै गर्छ । र यही नियम बनाउन चीन अग्रसर छ ।
(फार्मिङडेल–अब्जर्भरबाट)