काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले आईपीओ निष्कासनको प्रस्ताव सहित असार २४ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय ठमेल, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने काम सम्पन्न भैसकेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।
यस कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँका दरले १० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २१ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
ठमेल प्लाजा होटल एण्ड सुइटस कम्पनीले काठमाडौ महानगरपालिका– १६ स्थित ठमेलमा सुविधा सम्पन्न भवनमा चार तारा स्तरको होटल “रमदा इन्कोर काठमाडौं ठमेल” को नामबाट सञ्चालन गरेको छ । आईपीओ निष्कासन गर्नुअघि यस कम्पनीले ७० दशमलव ३० प्रतिशत हकप्रद शेयर विक्री गरिसकेको छ ।