काठमाडौं । गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको यूनाइटेड अजोड इन्स्योरेन्सले असार ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र यसको कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । कम्पनीले यस अघि १५ प्रतिशत हकप्द शेयर निष्कासनको प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेकाले १० प्रतिशत बोनस शेयरपछि चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँ कायम हुने भएकाले सो पूँजीको आधारमा १० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । कम्पनीको हकप्रद र बोनस पछि नेपाल बीमा प्राधिकरणले तोके बमोजिम पूँजी कायम हुनेछ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी तोकेकोमा कम्पनीको बोनस र हकप्रद शेयरपछि चुक्तापूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ ।
उल्लेखित प्रस्तावहरुसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि असार १९ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।