काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले जेठ ११ गते आइतवारदेखि अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गर्न लागेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण नभएको संस्थापकतर्फको १२ लाख ८५ हजार ४१ कित्ता र संस्थापकतर्फको लकइनमा रहेको १ लाख ६५ हजार ९५६ र लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । कम्पनीको लकइनमा रहेका उल्लेखित शेयर पनि आगामी असार ७ गतेपछि फुकुवा हुनेछ ।
जेठ १९ गतेसम्म यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले के कति रेटमा कबुल गर्ने हो सोसमेत खुलाई आवेदन दिनु पर्नेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा विक्री खुला हुने यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले माघ १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका शेयरधनीहरूका लागि १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । चैत १९ गतेदेखि वैशाख १४ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दा ८५ लाख ९५ हजार ९२८ कित्ता हकप्रद शेयरमात्र बाँडफाँट भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोहीबराबरको हकप्रद शेयर निष्कासन गरेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ ।