नेपाल प्राकृतिक स्रोतसाधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वनजंगल तथा यसभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी एवं गैरकाष्ठ वन पैदावरको महत्त्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करीब ७०० प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिका तर्फबाट अद्वितीय उपहार हो ।
अपार सम्भावना बोकेको महत्त्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्त्वपूर्ण साधन हुन् । वर्षेनि अर्बौं धनराशिको विभिन्न गैरकाष्ठ वन पैदावार विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा विक्रीवितरणबाट अर्बाैं धनराशि वर्षेनि भित्रिने गरेको छ । यार्सागुम्बालगायत अन्य महत्त्वपूर्ण जडीबुटीको विक्रीवितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लामा करोडौं रुपैयाँ वर्षेनि जिल्ला भित्रिने गर्छ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाबाट पनि लाखौं मूल्य बराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भइरहेको पाइन्छ । अत: यस लेखमा बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार ‘बाँस’सम्बन्धी चर्चा गर्ने जमर्काे गरिएको छ ।
सबैजसो हावापानीमा बाँस पाइए तापनि नेपालमा केही प्रजाति समुद्री सतहदेखि ४ हजार मीटरसम्म पाइन्छ । बाँस १ मीटरदेखि ३० मीटरसम्म अग्ला हुन्छन् भने यसको मोटाइ १ सेन्टिमिटरदेखि २५ सेन्टिमिटरसम्म व्यास हुन्छ ।
बाँसको अंग्रेजी नाम बेम्बु र वैज्ञानिक नाम डेन्ड्रोक्यालमस स्पेसिस र ब्याम्बुसा स्पेसिस हो । ग्रमिनी/पोयसी वनस्पति परिवारमा पर्ने बहुवर्षीय घाँस हो । यो उष्ण र उपोष्ण हावापानीमा धेरैजसो पाइए तापनि नेपालमा केही प्रजाति समुद्री सतहदेखि ४ हजार मीटरसम्म पाइन्छ । बाँस १ मीटरदेखि ३० मीटरसम्म अग्लो हुन्छ भने यसको मोटाइ १ सेन्टिमिटरदेखि २५ सेन्टिमिटरसम्म व्यास हुन्छ । यो संसारमा सबैभन्दा छिटो बढ्ने प्रजातिमध्ये एक हो ।
विश्वमा करीब ७५ जाति र १ हजार २५० प्रजातिका बाँस पाइन्छन् । यसमध्ये नेपालमा १२ जिनसअन्तर्गत ५२ प्रजातिका बाँशहरू पाइन्छन् । बाँसको प्रजातिअनुसार यसको पुष्पदल, घना खोष्टा, पत्रखोष्टा, घनाको आकारप्रकार, तामाको स्वरूप, हाँगाको प्रकार र घनाको मोटाइ फरकफरक पर्छ । बाँसमा मुख्य गरी हेमिसेलुलोज ५० देखि ७० प्रतिशत, पेन्टोसान्स ३० प्रतिशत, लिगनीन २० देखि २५ प्रतिशत र अन्य रोजन, गम, टेनिन आदि पाइन्छ । बाँस उष्ण तथा शीतोष्ण हावापानीमा हुने प्रजाति भए तापनि मरुभूमि वा चिसो ठाउँहरूमा पनि राम्ररी हुर्केको पाइन्छ । धेरैजसो बाँस राम्रोसँग घाम लाग्ने ठाउँहरूमा पाइन्छ ।
बाँस विभिन्न प्रकारको माटोमा हुन सक्ने प्रजाति हो । यो बिरुवा पानी नजम्ने ठाउँहरूमा बढी सप्रन सक्छ । यसको फेदको माटोलाई सुकेका पत्करहरूले छोपेमा यसको चिस्यान कायम रहन्छ र यसका वरिपरि अन्य घाँस आउन पाउँदैन । यसको खेती बीउबाट बिरुवा उमारेर, जराबाट र काण्ड कटिङबाट गर्न सकिन्छ । यसरी तयार गरिएका बिरुवा चिस्यान भएको जमीनमा सार्न सकिन्छ तर पानी जम्ने जमीन उपयुक्त हुँदैन । बाँस रोपण गर्न जमीन तयारी अरू बाली जति आवश्यक पर्दैन । बाँस भीर, पाखा, नदी उकास, डिललगायत खेतबारीमा सबै प्रकारको जमीनमा रोप्न सकिन्छ ।
बाँसमा विभिन्न काण्डमा प्वाल पार्ने कीरा, धमिरा तथा घनको प्रकोप र पात पहेलिने रोग देख्न सकिन्छ । त्यसैले यस्ता रोग तथा कीरा नियन्त्रण गर्न धुँवा लगाउने, चुना पोत्ने, गाईभैंसीको मूत्र तथा विभिन्न जैविक कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ । बाँसको व्यवस्थापन गर्दा बाँसको प्रकृति, ठाउँ, बाँस काट्ने उद्देश्यअनुसार फरक पर्छ ।
सामान्यतया यसको व्यवस्थापन गर्दा बाँसलाई वर्गीकरण गरी पुरानो बाँस काटेर, झ्याङबाट बाँस निकाली बीचबीचमा खाली ठाउँ बनाएर, जमीन सतहदेखि ६ इन्चसम्म मात्र खुटी राखी काटेर, बाँस काटेपछि ठूटो, टुप्पो, हाँगा, झ्याङ सबै हटाई सफा गरेर, सुकेको कीरा लागेको बाँस निकालेर, पोषक तत्त्व जस्तै बाँको जरामा मल, खरानी तथा विभिन्न प्राङ्गारिक मलको प्रयोग गरेर, समयसमयमा बाँसको हाँगा काट्ने वा झिकेर, प्रत्येक वर्ष नयाँ तामा पलाउने समयभन्दा पहिला नै जरामा माटो रोखेर गर्न सकिन्छ ।
बाँसखेतीको सम्भावनालाई योजनाबद्ध तरीकाबाट तिनै तहको सरकारले व्यावसायिक रूपमा विकास गरी नेपालमा रहेका विभिन्न औषधि कम्पनी, निर्माण व्यवसाय कम्पनीमा रहेको यसको मागलाई पूर्ति गर्न सके देशमै रोजगारी सृजना गरी अर्थतन्त्र चलायमान बनाउन सकिने थियो ।
बाँस गाउँघरदेखि शहरबजारसमेतमा निकै लोकप्रिय छ । खास गरी ग्रामीण समुदायमा काठको आपूर्ति कम भइरहेको अवस्थामा निर्माण सामग्रीका लागि बाँस वैकल्पिक निर्माण सामग्रीको हैसियतमा निकै महत्त्वपूर्ण मानिन्छ । मानव जीवनको जन्मदेखि मृत्युसम्म काम लाग्ने एक चिज नै बाँस हो । बाँस तराईदेखि हिमालसम्म पाइने गरेको छ । यसको वानस्पतिक गुण जस्तै : हल्कापना, लचकदार र छोटो समयमा उत्पादन हुने भएकाले बाँसलाई गरीबहरूको काठका रूपमा पनि चिनिन्छ । साथै यो मानिस तथा जनावरहरूको खाद्य उपयोगमा पनि प्रयोग हुने गर्छ । बाँसका कलिला डाँठ र पात नेपालको रेड पाण्डाको मुख्य आहार हो भने अफ्रिकाका पहाडी गोरिल्ला, चिम्पान्जी, जंगली हात्तीहरूले पनि यसलाई खाने गर्छन् ।
बाँसको तामा नेपाल, भारत, चीन, इन्डोनेशिया, थाइल्यान्ड आदि देशमा खाद्य पदार्थका रूपमा अत्यधिक प्रयोग गरिन्छ । बाँस दिसा पातलो भएको, पेटमा ग्यास भरिएको र पेटको कीरासम्बन्धी समस्यामा औषधिको रूपमा प्रयोग हुनुका साथै ज्वरो, अल्सर, खोकी, पिसाबसम्बन्धी रोग आदिका लागि बनाउने औषधिहरूमा पनि प्रयोग गरिन्छ । महिलाहरूमा मासिकसम्बन्धी रोगको औषधिहरूमा समेत बाँसको प्रयोग गरिन्छ । साथै बाँस घर, पुल आदि विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ । पहिले यसलाई वोरेक्स र वोरिक एसिड मिलाई बनाइएको झोलमा डुबाई कीरा लाग्नबाट जोगाइन्छ र निर्माण कार्यमा प्रयोग गरिन्छ । यसलाई सजावट कार्यका लागि पनि फ्रेम, फेन्सिङहरू बनाउन प्रयोग गरिन्छ । बाँशहरू कागज तथा कपडा उद्योगमा कागज बनाउन प्रयोग गरिन्छ । कागज बनाउने बाँशहरूमा डेन्ड्रोकालामा एस्पर बेम्बु, बेम्बु ब्लुमानिया पर्छन् । साथै यसलाई विभिन्न कपडा उद्योगमा पनि कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ । यसलाई पानीको मुहान संरक्षण गर्न, भूक्षय रोक्न, भिरालो जमीन स्थिरीकरण आदि कार्यमा समेत प्रयोग गरिन्छ । बाँसलाई धेरै प्रजातिको जनावर तथा चराचुरुङ्गीको वासस्थानका रूपमा पनि लिन सकिन्छ ।
निष्कर्षमा नेपाल वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण छ । यहाँ पाइने करीब ७०० प्रजातिको गैरकाष्ठ वन पैदावार तथा जडीबुटीबाट पर्याप्त आम्दानी तथा लाभ लिनसक्ने सम्भावनाका छ । तर, राष्ट्र तथा स्थानीय स्तरमा उल्लेखनीय रूपमा यसको लाभ लिन सकिएको छैन । उपलब्ध गैरकाष्ठ वनपैदावारहरूलाई वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवर्द्धनद्वारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी सृजना र गरीबी न्यूनीकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यसका लागि सम्बद्ध निकाय सदा क्रियाशील र समर्पित रहनुपर्छ ।
अत: बाँस विभिन्न जनावर तथा मानिसको लागि खाद्य पदार्थ, औषधि, निर्माण कार्य, उद्योगहरूमा कच्चा पदार्थ तथा वातावरण संरक्षण कार्यमा समेत प्रयोग हुने भएकाले यसको माग नेपाल, भारत तथा विश्वभरि बढ्दो छ र नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा हाम्रो देशमा बाँस खेतीको प्रचुर सम्भावना रहेको छ । बाँस खेतीको यस सम्भावनालाई योजनाबद्ध तरीकाबाट तिनै तहको सरकारले व्यावसायिक रूपमा विकास गरी नेपालमा रहेका विभिन्न औषधि कम्पनी, निर्माण व्यवसाय कम्पनीहरूमा रहेको यसको मागलाई पूर्ति गर्न सके देशमै रोजगारीको सृजना गरी देश अर्थतन्त्र चलायमान बनाउन सकिने थियो ।
लेखक नेपालमा गुणस्तरीय जीवनको निम्ति स्वास्थ्य, जनसंख्या, एवं वातावरण शिक्षामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि हुन् ।