अमेरिकामा राष्ट्रपति पदमा फेरि एकपटक डोनाल्ड ट्रम्प विजयी भएपछि आर्थिक तथा राजनीतिक क्षेत्रमा त्यसले हलचल नै ल्याएको छ । रूस–युक्रेन युद्धको सन्दर्भमा यूरोपसँग तनाव बढ्नेदेखि लिएर क्यानडालाई अमेरिकाकै अर्को एक राज्य बनाउने, ग्रीनल्यान्ड माथि आफ्नो प्रभुत्व स्थापित गराउनेजस्ता उनका अभिव्यक्तिले अन्तरराष्ट्रिय रूपमा नै यसै तरंग पैदा गरेको थियो नै, त्यस माथि विभिन्न देशमाथि उनको प्रशासनले लगाएको/बढाएको भन्सार तथा आयात शुल्कले अन्तरराष्ट्रिय व्यापारिक सन्तुलन नै खलबल्याएको छ । अमेरिकाले अहिले चीनसँग मात्र होइन, यूरोपेली संघ, थाइल्यान्ड, बंगलादेश, दक्षिण कोरिया, जापान, बेलायत, स्वीट्जरल्यान्डलगायत अन्य देशका सन्दर्भमा पनि अवलम्बन गरेको करनीतिका कारण विश्वव्यापी प्रभाव परेको देखिन्छ ।
यहाँ नेपोलियनले सन् १८१७ मै भनेका कुरा उद्धरण गर्नु सान्दर्भिक हुन्छ । उनले भनेका रहेछन्, ‘चीनलाई आरामसँग सुत्न देऊ, नत्र उसले ब्यूँझिएपछि विश्व नै थर्कने गरी हल्लाउनेछ ।’ हुन पनि अहिले चीन ब्यूँझिएको मात्र छैन, आफ्ना कर्म र मिहेनतले विश्वमै आर्थिक रूपमा सर्वशक्तिमान् बन्दै गएको छ र त्यसले अर्को शक्तिराष्ट्र अमेरिकालाई टाउको दुखाएको छ । यही दुई शक्ति राष्ट्रहरूको आपसी व्यापार युद्धले नेपोलियनले भनेझैं अहिले चीन ब्यूँझिएका कारण विश्व थर्कने गरी हल्लिएको छ ।
अहिले पुनः चर्किए पनि वास्तवमा केही वर्ष अघिदेखि नै अमेरिकाले र पछि चीनले एकअर्काको देशमा आयातनिर्यात हुने सामानमा आयात र निर्यात शुल्क बढाएपछि यी दुई राष्ट्रबीच व्यापार युद्ध शुरू भइसकेको थियो । तर, अहिले अमेरिकाले केही चिनियाँ वस्तुहरूमाथि २ सय ४५ प्रतिशतसम्म आयात शुल्क लगाएपछि र चीनले पनि आफ्ना कम्पनीहरूलाई बोइङ जहाज नलिन भनेपछि व्यापार युद्ध उत्कर्षमा पुगेको हो ।
सतहमा यसरी भन्सार शुल्कमार्फत व्यापार युद्ध गरेको देखिए पनि वास्तवमा यसलाई शक्ति कायम गर्ने पक्ष र शक्ति हत्याउने पक्षबीचको होडबाजीका रूपमा लिन सकिन्छ । अर्को शब्दमा भन्ने यो भने विश्वमा सर्वशक्तिमान् बन्ने होडबाजीमा रचिएको र थापिएको ‘पासो’ हो । यस प्रकारको शक्ति कायम गर्न प्रयोग गरिने पासोलाई ‘थुसिडिडिसको पासो’ भन्ने गरिएको छ ।
- भन्सार शुल्कमार्फत व्यापार युद्ध गरेको देखिए पनि यो शक्ति कायम गर्ने र शक्ति हत्याउने पक्षबीचको होडबाजी हो ।
- पूर्वस्थापित शक्तिमा भय पैदा हुने अनि उदीयमान शक्तिमा झन्झन् शक्ति बढ्दै जाने क्रममा ती दुई उदीयमान र निवर्तमान शक्तिका बीचमा युद्ध अनिवार्य र अवश्यम्भावी बन्न पुग्छ ।
- २०१६ मा अमेरिकाको कुल आयातमा २१ प्रतिशत अंश चीनले ओगटेको थियो भने गतवर्ष १३ प्रतिशतमा झरेको थियो ।
- नेपालमा लगानीमैत्री वातावरण हुन्थ्यो भने चीन, बंगलादेशजस्ता देशबाट लगानी भित्र्याएर अमेरिका निर्यात गर्न सकिन्थ्यो ।
- आईएमएफका अनुसार अमेरिका र चीनको अर्थतन्त्रले विश्व अर्थतन्त्रको ४३ प्रतिशत अंश ओगट्छ ।
- व्यापारयुद्धले सम्बद्ध दुई राष्ट्रलाई मात्र होइन, विश्वभरि नै आर्थिक मन्दी फैलन्छ र विश्वव्यापी व्यापार सकस झन् झन् बढाउँदै लैजान्छ ।
थुसिडिडिस भन्ने एकजना ग्रीकका इतिहासविद्ले इशापूर्व चौथो शताब्दीमा ‘पेलोपेनिसियन युद्धको इतिहास’ नामक पुस्तकमार्फत त्यो बेलाको प्रभुत्व जमाएर बसेको सर्वशक्तिमान् राष्ट्र स्पार्टा तथा उदीयमान शक्ति एथेन्सबीच शक्तिको आधारमा विस्थापन गर्ने क्रममा भएको युद्धको चर्चा गरेका छन् । यसै घटनालाई सिद्धान्तका रूप दिँदै उनले पूर्वस्थापित शक्तिमा भय पैदा हुने अनि उदीयमान शक्तिमा झन्झन् शक्ति बढ्दै जाने क्रममा ती दुई उदीयमान र निवर्तमान शक्तिका बीचमा युद्ध अनिवार्य र अवश्यम्भावी बन्न पुग्छ भन्ने निचोड निकालेका छन् ।
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम टिलेट अल्लिसनले थुसिडिडिसले व्याख्या गरेको दर्शनमा आधारित भएर ‘के अमेरिका र चीन थुसिडिडिस पासोबाट मुक्त हुन सक्लान् त’ भन्ने लेख लेखी यो पदावली पहिलोपटक प्रयोग गरेका थिए । ‘थुसिडिडिस पासो’लाई अङ्ग्रेजीमा छोटकरीमा ‘टी ट्राप’ भनेर पनि भनिन्छ ।
यस सिद्धान्तलाई प्रतिपादन गर्ने क्रममा अल्लिसनले विगत ५ सय वर्षका करीब १६ ओटा मुख्यमुख्य घटनाको विश्लेषण गरेका रहेछन् र ती घटनामध्ये १२ ओटा घटना युद्धमा पुगेर टुङ्गिएका रहेछन् । यिनै घटनाको सेरोफेरोमा रहेर सत्रौं घटनाको रूपमा अमेरिका तथा चीनको बीचमा अहिले विकसित सम्बन्ध थुसिडिडिस पासोमा परेको उनको जिकीर छ ।
हुन पनि युद्ध सधैं उस्तै र उही प्रकारले हुँदैन, समय परिस्थितिअनुसार युद्धका स्वरूप परिवर्तन भई नै रहन्छन् । मार्क ट्वेनले भनेअनुसार इतिहास कहिले पनि उही रूपमा दोहोरिँदैन, बरु इतिहासका घटनाहरू वर्तमानमा केही अनुप्रास मिलेर भने दोहोरिन सक्छन् । त्यसैले अहिलेको अमेरिका तथा चीन वीचको युद्ध ‘व्यापार युद्ध’का रूपमा भएको मान्न सकिन्छ ।
अमेरिका र चीनबीच गतवर्ष करीब ५८५ अर्ब डलर बराबरको व्यापार भएको तथ्यांक छ । यसमा चीनले अमेरिकाबाट १४५ अर्ब डलर बराबरको वस्तु तथा सेवा आयात गरेको तुलनामा अमेरिकाले चीनबाट गरेको त्यस्तो आयातको रकम ४४० अर्ब डलर रहेको थियो । सन् २०११७ मा चीनले अमेरिकाबाट आयात गरेको वस्तु तथा सेवाको मूल्य १३० अर्ब डलर रहेको र अमेरिकाले चीनबाट गरेको आयात त्यति बेलै ५०६ अर्ब डलर रहेको थियो । चीनले अमेरिकाबाट आयात गर्ने समानहरूमध्ये सबैभन्दा बढी उच्च गुणस्तरको भटमास थियो भने अमेरिकाले चीनबाट विद्युतीय सामग्रीहरू, विद्युतीय गाडीका लागि आवश्यक पर्ने ब्याट्री, स्मार्टफोन, कम्प्युटर तथा खेलौनाहरू बढी मात्रामा आयात गरेको थियो । यसबाट अमेरिकाको चीनसँगको व्यापारघाटा गतवर्ष मात्र २९५ अर्ब डलर रहेको थियो ।
यही परिमाणको व्यापार घाटालाई ट्रम्पले १ ट्रिलियन (१० खर्ब) डलर बताउँदै आएका थिए । यही कारण चिनियाँ सामानहरूमा आयात शुल्क बढाएर अमेरिकाले चीनबाट हुने आयातमाथि नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ । पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले शुरू गरेको चीनसँगको यस्तै व्यापार युद्धको कारण अमेरिकाले चीनबाट गर्ने आयातमा उल्लेख्य मात्रामा कमी आएको थियो । सन् २०१६ मा अमेरिकाको कुल आयातको २१ प्रतिशत अंश चीनबाट गर्ने आयातले ओगटेको थियो भने गतवर्ष यो घटेर १३ प्रतिशतमा आएको छ । यति भए पनि गतवर्ष मात्र २९५ अर्बको व्यापार नाफा गरिरेहेको चीनले यस प्रकारको व्यापार युद्धबाट अमेरिकाभन्दा बढी घाटा बेहोर्नुपर्ने विश्लेषण गरेर अमेरिका व्यापार युद्धमा होमिएको मान्न सकिन्छ ।
तर, अन्तरराष्ट्रिय व्यापारमा तुलनात्मक लाभको दृष्टिले कारोबार हुने र त्यसले दुवै पक्षलाई फाइदा पुग्ने हुनाले व्यापारघाटालाई सामान्य रूपमा लिने गरिन्छ । नोबेल पुरस्कार जितेका अर्थशास्त्री रोबर्ट सोलोले दिने गरेको ‘मेरो हजामसँग मेरो लामो समयदेखि व्यापार घाटा छ । उसले मसँग केही पनि किन्दैन,’ भन्ने उदाहरणले पनि यस्तो व्यापारघाटाको कुनै महत्त्व नहुने कुरालाई नै पुष्टि गर्छ ।
आज चीनले आफूले खपत गर्नेभन्दा अत्यधिक उत्पादन गर्ने मात्र होइन, आफूले आयात गर्नेभन्दा १ खर्ब डलर बढीको वर्षेनि निर्यात गर्ने गर्छ । अमेरिकाले चीनमाथि लगाउने उच्च आयात शुल्कले चीनको त्यहाँ हुने निर्यात प्रभावित हुन सक्छ र त्यसको सकारात्मक/नकारात्मक दुवै प्रकारका असर अन्यत्र देशहरूमाथि पनि पर्न सक्छ । विशेष गरी नेपाल जस्ता देशहरूले चीनको लगानी आकर्षित गरी ती सामानलाई नेपालमार्फत निर्यात गर्ने वातावरण बन्न सक्ने हो भने त्यो नेपालजस्तो देशका लागि वरदान सावित हुन सक्छ । तर, नेपालको आफ्नै कमजोर लगानीमैत्री वातावरणको कारण यो सम्भावनालाई नेपालले अवसरको रूपमा लिनसक्ने देखिँदैन । यदि नेपालमा लगानी मैत्री वातावरण हुन्थ्यो भने चीन मात्र होइन, अमेरिकाले आयात शुल्क बढाएका बंगलादेश जस्ता देशबाट समेत लगानी भित्र्याएर अमेरिका निर्यात गर्ने वातावरणको सृजना हुन सक्थ्यो ।
विशेष गरी चीनसँग व्यापार युद्धमा अमेरिका बढी नै आक्रामक देखिएपछि त्यसको विश्वव्यापी रूपमा पर्ने असरहरूका बारेमा चर्चाहरू पनि बाक्लिन थालेका छन् ।
अन्तरराष्ट्रिय मुद्राकोषका अनुसार अमेरिका र चीनको अर्थतन्त्रले विश्व अर्थतन्त्रको ४३ प्रतिशत हिस्सा ओगट्ने कारणले पनि यी दुई देशबीचको व्यापार युद्धलाई गम्भीरताका साथ हेर्नुपर्ने हुन्छ । उसले अमेरिकाको अहिलेको कदमले विश्वव्यापी आर्थिक वृद्धिमा शिथिलता आउने तथा मुद्रास्फीति बढ्ने चेतावनी दिएको छ ।
माथि नै व्याख्या गरिएझैँ यो व्यापार युद्धमार्फत कसिएको थुसिडिडिसको पासो जतिजति कसिँदै जान्छ त्यसले सम्बद्ध दुई राष्ट्रलाई मात्र होइन विश्वभरि नै आर्थिक मन्दी फैलने र त्यसले नै विश्वव्यापी व्यापार–सकस झन् झन् बढाउँदै लैजान्छ । त्यसैले यो पासो खुकुलो बनाउनु जरुरी हुन्छ र शायद त्यही कारण अमेरिका र चीनले व्यापारिक युद्धमा बेलाबेलामा युद्धविराम गर्ने गरेका छन् । किनभने यस्तो व्यापार युद्धको कुनै पनि पक्षलाई फाइदा छैन । ट्रम्पको अघिल्लो कार्यकालमा पनि यस्तो पासो कसिँदै गएर सकस बढेपछि अमेरिका र चीनले जारी व्यापार युद्धलाई विराम गरेका थिए । अहिले पनि अमेरिकाले स्मार्टफोन तथा ल्यापटप जस्ता केही सामानहरूमा वृद्धि गरेको आयात शुल्कलाई केही समयका लागि छूट दिएर आफू युद्धविरामका लागि तयार रहेको सन्देश दिएको मान्न सकिन्छ । चीनले व्यक्त गरेको ‘यो कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन’ भन्ने भनाइले ऊ पनि यसको अन्त्य नै चाहन्छ भन्ने देखिन्छ । तापनि तर एकअर्कालाई हराउने ‘इगो’ ले यस्तो प्रयासलाई पहिला व्यक्त हुन नदिने रणनीतिमा यी दुई देश लागेका कुरा अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् ।
हुन त व्यापार युद्धले अमेरिका र चीनलाई मात्र नभई विश्वका धेरै राष्ट्रलाई समेत भविष्यमा झन् बढी नकारात्मक प्रभाव पार्ने देखेर होला दुवै पक्षबाट अहिले यो व्यापार युद्ध अन्त्य गर्ने परोक्ष प्रयासहरू हुन थालेका छन् र यो आलेख तयार गर्दै गर्दा नै ट्रम्पले चीनसँग वार्ताको प्रस्ताव अगाडि सारिसकेका छन् । यसअघि कसले पहिला यस्तो प्रस्ताव गर्ने भनेर इगोको लडाइँ हुँदै आएको आकलन गरिँदै आएको थियो । ट्रम्पको यो प्रस्तावलाई चीनले कसरी प्रत्युत्तर दिने हो त्यसले यो व्यापार युद्धको भविष्य तय गर्ने छ ।
लेखक सम्पत्ति शुद्धीकरण विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।