यो केवल शीर्षक होइन । यो २०२५ मा विश्व पर्यटनको एक गम्भीर वास्तविकता हो । भारत, इन्डोनेशिया, जापान, आइसल्यान्ड, अन्टार्कटिका, पेरू, म्याडागास्कर, अस्ट्रेलिया र माल्दिभ्स अहिले ‘लास्ट चान्स टुरिज्म’ (अन्तिम मौका पर्यटन) मा अग्रस्थानमा छन् । यी देशहरूका सुन्दर तर कमजोर प्राकृतिक सम्पदाहरू जस्तै ग्रेट बेरियर रीफदेखि भारतको सुन्दरवनसम्म यति तीव्र गतिमा परिवर्तन भइरहेका छन् जुन मानव इतिहासमा कहिल्यै देखिएको थिएन ।
अन्तिम मौका पर्यटन एउटा प्रवृत्तिमात्र होइन यो एउटा विश्वव्यापी मनोवैज्ञानिक र वातावरणीय प्रवृत्ति बनेको छ । आइसल्यान्डका हराउँदै गएका हिउँका पहाडदेखि अन्टार्कटिकाको पग्लिँदो बरफ, माल्दिभ्सका डुब्दै गरेका टापुहरूदेखि भारतको सुन्दरवनका संकटमा परेका बाघसम्म यो प्रवृत्तिले पर्यटकलाई ‘अन्तिम पटक हेर्ने’ अभियानतिर धकेलिरहेको छ ।
जापानको प्रसिद्ध फुजियामा हिमाल, पेरूको माचु पिचु र म्याडागास्करका हराउँदै गरेका वर्षावनले मानिसलाई समय सकिनुअघि अवलोकन गर्न प्रेरित गरिरहेका छन् । तर, यसका साथसाथै एउटा विडम्बना पनि छ जति धेरै पर्यटक आउँछन्, उति नै ती संवेदनशील स्थलहरूमा बढी असर पर्छ ।
- नष्ट हुने सँघारमा पुगेका संसारका प्रमुख प्राकृतिक र सांस्कृतिक स्थलहरूलाई ‘बिदाइ यात्रा’का रूपमा अवलोकन गर्न हजारौं मानिस लागिपरेका छन् ।
जलवायु परिवर्तन अब भविष्यको खतरा होइन । अहिलेको वास्तविकता हो । यस्तो अवस्थामा ‘अन्तिम मौका पर्यटन’ एक भावनात्मक, सचेतनात्मक र आपत्कालीन घडीको पर्यटन शैली बनेको छ । नष्ट हुने सँघारमा पुगेका संसारका प्रमुख प्राकृतिक र सांस्कृतिक स्थलहरूलाई ‘बिदाइ यात्रा’का रूपमा अवलोकन गर्न हजारौं मानिस लागिपरेका छन् ।
यसबाट पर्यटन उद्योग फेरिएको छ । यसको सारमा एक विरोधाभास छ : स्मरण र सचेतना बढाउने उद्देश्यले गरिने यात्रा नै तिनको विनाशमा योगदान पुर्याउन सक्छ ।
उदाहरणका लागि अस्ट्रेलियाको ग्रेट बेरियर रीफलाई लिन सकिन्छ । यो विश्वकै सबैभन्दा ठूलो कोरल रीफ प्रणाली हो जुन विगत ३ दशकमा आधाभन्दा बढी भाग गुमिसकेको छ । तापक्रम वृद्धि, महासागर अम्लीकरण र प्रदूषण मुख्य कारण हुन् । तर, त्यहाँको भ्रमणको माग झन् बढ्दो छ । पर्यटक अझै पनि छोपिने कोरल रीफहरूमा पौडिरहेका छन् जब वैज्ञानिकहरूले सशक्त चेतावनी दिइरहेका हुन्छन् ।
इटालीको भेनिस पनि यस्तै पर्यटन गन्तव्य हो । यो विश्वकै सबैभन्दा सुन्दर तर डुब्न लागेका शहरहरूमध्ये एक हो । यो पनि ठूलो संकटमा छ । बाढी, समुद्री सतह वृद्धिले शहरलाई जोखिममा पारेको छ । त्यसो हुँदाहुँदै पनि लाखौं पर्यटक त्यहाँ पुगिरहेका छन् । यो शहरको मोहकता र संकटको दोहोरो रूप अहिले पर्यटनको प्रमुख आकर्षण बनेको छ ।
अमेरिकाको ग्लेसियर नेसनल पार्क वा तान्जानियाको किलिमान्जारो हिमाल जस्ता गन्तव्यहरूमा पनि यात्रुहरू हराउँदै गरेका हिम शिखरहरू हेर्न जान चाहिरहेका छन् । आइसल्यान्डका पग्लिँदै गरेका हिमनदी, आइस केभहरू र ज्वालामुखीय क्षेत्रहरू पर्यटकको चापले थप संकटमा छन् ।
युनेस्को विश्व सम्पदा क्षेत्रमा परेको भारतको सुन्दरवन समुद्री सतहको वृद्धिको चपेटामा परेको छ । यो जंगल दुर्लभ पाटे बाघ, घडियाल र सयौं चराचुरुङ्गीहरूको घर हो । तापमान वृद्धिले यसको क्षेत्रफल वर्षेनि घटाइरहेको छ । ईको–पर्यटकको चापले स्थिति अझ जटिल बनाएको छ ।
इन्डोनेशियाको एक सक्रिय ज्वालामुखी माउन्ट ब्रोमो सूर्योदय हेर्नेहरूका लागि लोकप्रिय गन्तव्य हो । तर, बढ्दो पर्यटक चाप र प्रदूषणले यहाँको वातावरणीय सन्तुलनमा प्रभाव पारिरहेको छ । जापानको फुजियामा पनि प्रदूषण, जंगल विनाश र बाटो क्षयको समस्याबाट गुज्रिरहेको छ ।
पृथ्वीको फोक्सो मानिने अमेजनको जंगललाई पर्यटकका लागि रोमाञ्चक गन्तव्य बनेको छ । तर, वन विनाश, आगलागी र खानी उत्खननले यहाँको जैविक विविधतालाई संकटमा पारिरहेको छ । यस्तै, गालापागोस टापुहरू पनि पर्यटकीय चापले असन्तुलनमा गइरहेका छन् ।
माल्दिभ्स पनि समुद्री सतह वृद्धिका कारण २०५० सम्ममा धेरै भाग डुब्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । यो क्षेत्र पनि अझै पर्यटकहरूले भरिभराउ छन् ।
म्याडागास्करका हराउँदै गरेका वन, अन्टार्कटिकाको पग्लिँदो हिउँ, फ्लोरिडाको एभरग्लेड्स र डेड सी, यी सबै ठाउँ अहिले पर्यटकको ‘अन्तिम मौका’ को सूचीमा छन् ।
सचेतनाको दोधार
आजका पर्यटक पहिलेभन्दा बढी सचेत छन् । धेरैजसो केवल रमाइलोका लागि होइन, पर्यावरणीय चेतना र संरक्षणका लागि पनि भ्रमण गर्छन् । शिक्षा र अनुसन्धानमा आधारित भ्रमण बढ्दो छ । तर, कुनै पनि यात्रा शून्य कार्बन उत्सर्जन हुँदैन । हवाईजहाज, क्रुज, प्लास्टिक प्रयोग र स्थानीय वातावरणमा असर भइ नै हाल्छ । अत्यधिक भ्रमण (ओभरटुरिज्म) अहिले गम्भीर समस्या बन्दै गएको छ । प्लास्टिक फोहोर, पानीको अत्यधिक प्रयोग र स्थानीय स्रोतको दोहनले ती संवेदनशील क्षेत्रहरूलाई थप क्षति पुर्याइरहेका छन् ।
अन्तिम मौका पर्यटन : समाधान सम्भव छ ?
पर्यटन उद्योगले अब उत्तरदायित्व लिन थालेको छ । यात्रा व्यवसायहरूले कार्बन अफसेट प्याकेज, शिक्षा–केन्द्रित यात्रा र सानो समूहहरूमा यात्रा गर्ने विकल्पहरूको विकास गरिरहेका छन् । केही सरकारहरूले माचु पिचु, गालापागोस र भेनिसजस्ता क्षेत्रमा पर्यटक संख्यामा सीमितता ल्याइरहेका छन् ।
अब यात्रुहरूका लागि पनि नैतिक निर्णय आवश्यक भएको छ । ढिलो यात्रा गर्ने, फोहोर नफाल्ने, स्थानीय नियम पालना गर्ने र संरक्षणमा सहभागी हुनेजस्ता कुरामा पर्यटक सचेत बन्नैपर्छ ।
के अन्तिम मौका पर्यटन रहिरहनेछ ?
वातावरणीय परिवर्तनको गति हेर्दा यो प्रवृत्ति निकट भविष्यमा हराउने देखिँदैन । बरु यो अझ बढी मुख्यधारमा आउने सम्भावना छ । तर, यसका स्वरूप बदलिन आवश्यक छ ।
अब ‘हराउनुअघि हेरौं’ बाट ‘हेर्नुहोस् र जोगाउनुहोस्’ मा रूपान्तरण आवश्यक छ । यो केवल भावुकता नभई सक्रियताको माध्यम बन्नुपर्छ किनभने अन्ततः उद्देश्य केवल हेर्न होइन जोगाउनु हो । (ट्राभल एन्ड टुर वर्ल्डबाट)