वीरगञ्ज । बढ्दो विद्युत् कटौतीका कारण बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगको उत्पादन प्रभावित भएको उद्यमीहरूले बताएका छन् ।
केही समयदेखि बढ्दो विद्युत् कटौती र पटकपटकको ट्रिपिङले कोरिडोरका उद्योगको उत्पादनमा प्रतिकूल असर परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताए । संघले यो समस्याका निकास दिन सरकारको ध्यानाकर्षण गराएको पनि उनले जानकारी दिए ।
सुक्खा मौसमसँगै विद्युत्को उत्पादन घटेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् काटेर घरायसी ग्राहकलाई आपूर्ति दिइरहेको छ । अहिले बारा–पर्सा औद्योगिक कोरिडोरमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत नआएको उद्योगीहरूले बताएका छन् ।
‘यसै त १०/१२ घण्टाभन्दा बढी विद्युत् आउँदैन । त्यसमाथि प्राधिकरणका अधिकारीले आधा लोडमा उद्योग चलाउन भनिरहेका छन्,’ एक उद्योगीले भने । विद्युत् आपूर्तिमा समस्या आएसँगै प्राधिकरणले कोरिडोरका उद्योगहरूलाई स्वीकृत लोडको आधा क्षमता उपयोग हुने गरी चलाउन भनिरहेको ती उद्योगीले जानकारी दिए ।
विद्युत् प्राधिकरणले आपूर्ति दिएको समयमा समेत पटकपटक ट्रिपिङ भइरहेको गुनासो उद्योगीको छ । आपूर्ति पाएको समयमा नियमित आपूर्ति नभएपछि उत्पादन नै अस्तव्यस्त भएको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश उद्योग समितिका अध्यक्ष दीपेश अग्रवालले बताए ।
‘औद्योगिक कोरिडोरका उद्योगमा प्राधिकरणले गरिरहेको अघोषित लोडशेडिङ र पटकपकटको विद्युत कटौतीले उत्पादन चौपट भएको छ । उत्पादन गर्न त सकिएको छैन नै, उल्टै कच्चा पदार्थ खेर गएर नोक्सानी व्यहोर्नु परेको छ,’ उनले भने ।
विद्युत कटौतीका कारण कोरिडोरका उद्योगमा परेको असरबारे सरकारको ध्यानाकर्षण गराएको संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।
बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १२ घण्टाजति विद्युत आउने र त्यसमा पनि १४÷१५ पटकसम्म ट्रिपिङ भइरहेको गुनासो आएको उनले बताए । अनियमित आपूर्तिका कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थ नोक्सान भइरहेको पनि उद्योगीले बताएका छन् ।
संघका अध्यक्ष गौतमले विद्युत् उद्योगका लागि कच्चा पदार्थजस्तै भएकाले नियमित आपूर्तिमा सरकार गम्भीर हुनुपर्ने माग गरे । प्रसारणका पूर्वाधार पुरानो र कम क्षमताका कारण आपूर्तिको समयमा बढी विद्युत खपत हुनेबित्तिकै ट्रिपिङ हुने गरेको उनले बताए ।
औद्योगिक क्षेत्रमा पटकपटक विद्युत् ट्रिपिङ भइरहेको बताए । ‘उद्योग प्रतिष्ठानहरूको अक्सिजनकै रुपमा रहेको विद्युत्को नियमित आपूर्ति हुन नसकेपछि कोरिडोरका उद्योग कम क्षमतामा सञ्चालन भइरहेका छन्,’ उनले भने ।
सुक्खायाममा नदीमा पानीको सतह घटेपछि उत्पादन कटौती भएको र यसबाट आपूर्तिमा समस्या आएको विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुवेले बताए । भारतले यही बेला विद्युत् आपूर्ति घटाएपछि उद्योगमा काटेर घरायसी ग्राहकलाई आपूर्ति गर्नुपरेको उनको भनाइ छ ।
उद्योगी, व्यवसायी र घरायसी ग्राहक बढ्दो विद्युत कटौती, गुणस्तरीय विद्युत आपूर्तिको अभावका कारण समस्यामा परेको संघका वरिष्ठ उपाध्यक्ष राजपालले बताए ।
केही दिनयता घरायसी ग्राहकले पनि नियमित आपूर्ति पाएका छैनन् । बढ्दो गर्मीसँगै खपत बढेपछि ट्रिपिङ र ट्रान्सफर्मर पड्किएर घण्टौं लाइन कट्नेजस्ता समस्या थपिएको विद्युत्का उपभोक्ताले बताएका छन् ।