मान्छे सृजनशील प्राणी हो । बौद्धिक सम्पत्ति भन्नाले मानव मस्तिष्कका सृजनाहरू जस्तो साहित्यिक, कलात्मक र वैज्ञानिक कार्य, कलाकारितासम्बन्धी प्रस्तुतिहरू, ध्वन्याङ्कन र प्रसारण कार्य, नवीनतम प्रविधि र वस्तुका आविष्कारहरू, वैज्ञानिक खोजहरू, औद्योगिक डिजाइनहरू, भौगोलिक संकेतहरू, व्यापार चिह्न तथा सेवा चिह्नलगायत पहिचानमूलक चिह्नहरू, व्यावसायिक गोपनीयताहरू, अस्वस्थ प्रतिस्पर्धा निवारण कार्यलगायत नवीनतम र सृजनामूलक कार्यहरू भन्न सकिन्छ । हाल एकीकृत सर्किट डिजाइन, परम्परागत ज्ञान, लोक संस्कृति, जैविक विविधताहरू तथा बोटबिरुवाका नयाँ जातहरूलाई पनि बौद्धिक सम्पत्तिअन्तर्गत समावेश गरिएको छ । मुलुकमा परम्परागत ज्ञानको वैभवका रूपमा रहेका विभिन्न विषयका हस्तलिखित ग्रन्थहरू र आयुर्वेदिक ज्ञान आदि निधिहरू प्रशस्त रहेकाले यिनीहरूको पनि बौद्धिक सम्पत्ति विधाअन्तर्गत उचित संरक्षण एवम् उपयोग गरिनु आवश्यक भएको छ ।
बौद्धिक सम्पत्ति मानवीय चिन्तनबाट उद्भावित नवीन विचार वा अभिव्यक्ति हो । यसलाई अभिप्रेरित गर्ने तत्त्व मानव समाजमा परापूर्वकालदेखि जम्मा हुँदै आएको ज्ञानको भण्डार नै हो । मानवीय चेतना र ज्ञानको साथसाथै बौद्धिक सम्पत्तिको इतिहास पनि यस धर्तीमा मानव जातिको प्रादुर्भाव जत्तिकै प्राचीन रहेको छ भन्न सकिन्छ । तर, यसका विभिन्न आयामहरूको पहिचान र संरक्षण पद्धतिको प्रारम्भ भने केही शताब्दी अघिदेखि मात्र शुरू भएको हो । धेरैले प्रश्न गर्छन् यस्ता ज्ञान, विचार र अभिव्यक्तिजस्ता कुरामा पनि मान्छेले आआफ्नो अधिकार जमाउँदै जाने हो भने ज्ञानको सार्वजनिक उपयोग नै समाप्त हुने र मान्छेले मुखमा पट्टी बाँधेर हिँड्नुपर्ने दिन त आउने होइनन् ?
बौद्धिक सम्पत्तिको प्रवर्द्धन, सृजना, संरक्षण र उपयोगको समष्टिपरक चिन्तनका साथ बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नुपर्ने मूलभूत कारण समग्रमा मुलुकको आर्थिक र सामाजिक लाभ अभिवृद्धि गर्नु हो ।
अहँ आउँदैन । पहिलो कुरा त कुनै नवीनता वा मौलिकता नभएको विद्यमान स्रोतमा कसैलाई पनि राज्यले बौद्धिक सम्पत्ति अधिकार स्वीकृत गर्दैन– जस्तो प्रचलित जातहरूको आधारमा प्रविधिको प्रयोग गरेर आफ्नै लागत र मेहनतले कसैले नयाँ जात निकालेर त्यस्तो अधिकार स्थापित गर्छ भने अरूको किन टाउको दुखाइ ? कसैले आफ्नो मौलिक क्षमता प्रयोग गरेर किताब लेखेर प्रतिलिपि अधिकार प्राप्त गर्छ भने अरूको के अधिकारमा दख्खल हुने कुरा भयो र ? अर्को कुरा कसैको सृजनामा वा प्राविधिक कार्यमा राज्यले कुनै बौद्धिक सम्पत्ति अधिकार स्वीकृत गर्दा सार्वजनिक हितमा प्रतिकूल असर नपरोस् भनी कानूनले धेरै प्रकारका सीमा र बन्देज राखेको हुन्छ । जस्तो बौद्धिक सम्पत्ति अधिकारयुक्त सामग्रीको प्रयोग सम्बन्धमा अधिकार लिएको विषयबाहेक वैकल्पिक प्रयोगमा छूट हुने, अधिकार रहने सीमित अवधि भुक्तान भएपछि त्यस्तो वस्तु स्वत: सार्वजनिक हुने आदि धेरै कुरा पर्छन् ।
त्यस्तै बौद्धिक सम्पत्तिको किसिम हेरेर कुनकुन कुरा धनीको अधिकार हुने र कुनकुन प्रयोजनमा सार्वजनिक अधिकार रहने भन्ने कुरा पनि फरक फरक किसिमले कानूनले नै तोकेको हुन्छ । उदाहरणका लागि कुनै प्रविधिमा जो कसैले शिक्षण प्रशिक्षण अध्ययन, अनुसन्धान, परीक्षणजस्ता कार्य सार्वजनिक रूपमा गरिएकोमा पेटेन्ट अधिकार आकर्षित हुँदैन । अत: कुनै पनि उद्योग व्यवसाय स्थापना गर्नुभन्दा पहिले बौद्धिक सम्पत्तिको सृजना तथा उपयोगको विषयमा राम्रो सोचका साथ अगाडि बढ्नु लगानीकर्ताका लागि अपरिहार्य हुन्छ ।
बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नुपर्ने पहिलो र मूलभूत कारण सृजनशील प्रतिभाहरूलाई प्रोत्साहन गर्नु हो । यसको संरक्षणबाट वैज्ञानिक, अनुसन्धानकर्ता, लेखक, साहित्यकार, कलाकार, प्राविधिज्ञ, विभिन्न व्यवसायीजस्ता व्यक्तिहरूले आफ्नो सृजनामा एकलौटी कानूनी अधिकार स्थापित गर्ने हुँदा प्रत्यक्ष ढंगले आफूले गरेको लगानी र मेहनतबापत आर्थिक फाइदा उठाउन सक्छन् र तिनीहरूले थप नयाँ कुराहरू सृजनाका लागि लगानी गर्ने साधन जुटाउन पनि सक्षम हुन्छन् । यदि उनीहरूसँग भएको मानसिक क्षमताको उजागर हुन सकेन भने त्यो अमूल्य निधि उनीहरूको मृत्युसँगै नष्ट भएर जान्छ र समाजलाई ठूलो क्षति पुग्छ । जस्तो आविष्कार स्वत: हुने प्रक्रिया होइन । यसका लागि स्रष्टालाई अनुकूल वातावरण र प्रोत्साहन चाहिन्छ । उद्योग व्यापार क्षेत्रमा आविष्कारलगायत बौद्धिक सम्पत्ति यथेष्ट मात्रामा उपयोग हुनु पर्छ र नवीन वस्तुहरूमा रूपान्तरण हुनुपर्छ । त्यस्ता आविष्कार वा सृजनालाई स्रष्टा वा सृजनशील व्यक्तिहरूको पक्षमा समयसापेक्ष संरक्षण दिने पद्धति विश्वका प्राय: सबै मुलुकमा निर्माण गरिएको छ । यी कुरा उनीहरूलाई स्वस्फूर्तरूपमा उजागर गराउन उचित समयका लागि संरक्षण प्रदान गरिनुपर्छ ।
वैज्ञानिक, लेखक, साहित्यकार, कलाकारलगायत स्रष्टाले बौद्धिक सम्पत्तिको सृजनामा आफ्नो जीवन समर्पण गर्ने भएकाले उनीहरूको बौद्धिक सम्पत्ति विधामा विशेष स्थान रहेको हुन्छ र कानूनमा उनीहरू बौद्धिक सम्पत्ति अधिकारका प्रथम धनी हुन्छन् । उनीहरूको पूर्वस्वीकृतिविना कसैले आफ्नो आर्थिक लाभ हुर्ने क्रियाकलापहरूमा त्यस्तो बौद्धिक सम्पत्ति चलन गर्न पाइँदैन । यस पद्धतिबाट आज असीम ज्ञानका भण्डार, अनगिन्ती उपभोग्य वस्तुहरूको उत्पादन एवम् प्रविधिको विकासले विश्वको मुहार परिवर्तन गरेको छ । अत: यसमा योगदान पुर्याउने स्रष्टालाई बिर्सन हुँदैन र उनीहरूको सृजनशीलतालाई संरक्षण दिएर सम्मान गर्नुपर्छ ।
बौद्धिक सम्पत्ति संरक्षण गर्नुपर्ने दोस्रो औचित्य प्रविधिक ज्ञान र यन्त्रउपकरणको विकासले पुष्टि गर्छ । पाषाणयुग मानव शास्त्र तथा समाज शास्त्रले आफ्नो स्पष्ट स्वरूप लिइसकेको कालखण्ड हो । यसलाई आधार बिन्दु मानेर पुनरवलोकन गर्ने हो भने आजको मानव सभ्यता र विकास कति अगाडि बढिसकेको छ भन्ने कुरा हामी सहजै आकलन गर्न सक्छौं । पाषाणयुगमा शिकार गर्न ढुङ्गालाई घोटेर तयार पारिएको धारिलो हतियार पनि मानवीय सृजनाको अनौठो वस्तु मानिन्थ्यो भने आज आएर कृषि यातायात, सञ्चार, चिकित्सा प्रविधि, सूचनाप्रविधि, कम्प्युटर प्रविधि आदि यन्त्र उपकरणका अनेक विकल्प उपलब्ध छन् । तिनको अलावा कम्प्युटरको कृत्रिम मानसिकताले मानवीय विचार शक्तिलाई उछिनेको अवस्था सृजना हुनुको कारक तत्त्व बौद्धिक सम्पत्ति संरक्षण पद्धति नै हो ।
बौद्धिक सम्पत्ति संरक्षणको तेस्रो औचित्य मानवीय आवश्यकताहरूको परिपूर्तिबाट हुन्छ मान्छेका आधारभूत आवश्यकता गास, वास र कपास जस्ता सीमित वस्तु मात्र हुन् । यी सुविधा जुटाउन मात्र पनि बौद्धिक सम्पत्ति त उपयोगी हुन्छ नै तर मान्छेको सृजनाशील क्षमता र आवश्यकताको सीमा नै नभएजस्तै उत्पादित वस्तुहरू पनि असीमित रहेका छन् । हाल लाखौं प्रकारका दैनिक उपभोग्य वस्तुले मानवीय आवश्यकता र रहरहरू पूरा गरिरहेका छन् । मनोरञ्जनका साधनहरू पनि त्यतिकै वृद्धि भएका छन् । उपभोक्ताले पनि नयाँनयाँ, मनमोहक र स्तरीय वस्तु तथा सेवाहरू बजारबाट उपलब्ध गर्न र सन्तुष्टि प्राप्त गर्न पाउँछन् । यो सबै मानवीय सृजनशीलता र आविष्कारको प्रतिफल हो । यसैलाई हामीले बौद्धिक सम्पत्तिको उपाधि दिएका छौं । बौद्धिक सम्पत्ति संरक्षण पद्धतिको विकास नभएको भए यो सबै सम्भव हुने थिएन ।
चौथो हो औद्योगिक लगानी र रोजगारी प्रवर्द्धन । बौद्धिक सम्पत्तिको फलस्वरूप मुलुकमा रोजगारी सृजना हुने, विदेशी लगानी बढ्ने, नयाँ उद्योगहरू स्थापना हुने, प्रविधिको विकास हुने, सांस्कृतिक निधि एवम् मानवीय मूल्य र मान्यताको जगेर्ना हुने, जीवनस्तर बढ्ने र उपभोक्ताको हित संरक्षण हुने भएकाले मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा ठूलो मद्दत पुग्छ । यस्ता सम्पत्तिलाई अन्य आर्थिक क्षेत्रको अतिरिक्त खासगरी उद्योग व्यापारका क्षेत्रमा व्यापक रूपमा प्रयोग गरी मुलुकका सामाजिक तथा आर्थिक उद्देश्यहरू प्राप्त गर्न सकिन्छ ।
उद्योग व्यापारमा वस्तुत: दुई प्रकारको पूँजी लगानी हुन्छ– मूर्तपूँजी र अमूर्तपूँजी । विश्वमा औसत रूपमा औद्योगिक लगानीको ७० प्रतिशत अंश अमूर्त पूँजीले ओगटेको हुन्छ भने ३० प्रतिशत मात्र मूर्त पूँजीले ओगटेको हुन्छ । मूर्त पूँजीमा जमीन, भवन, मेशिनरी उपकरण, पूर्वाधारहरू, नगद तथा बैंक मौज्दातजस्ता वस्तुहरू पर्छन् भने अमूर्त पूँजीमा प्रविधि, योजना, उत्पादन रणनीति, व्यावसायिक सूचनाहरू, ख्याति र विभिन्न किसिमका बौद्धिक सम्पत्तिहरू पर्छन् । अमूर्त पूँजीमा सबैभन्दा बढी र महत्तम अंश बौद्धिक सम्पत्तिको हुन्छ । पुरातन उत्पादन प्रणालीमा भौतिक पूँजी मात्र हेरिन्थ्यो । तर, आधुनिक उत्पादन प्रणाली अवलम्बन गर्ने व्यावसायिक प्रतिष्ठानहरूमा मूर्तभन्दा अमूर्त पूँजी लगानीको महत्त्व धेरै बढी रहन गएको छ । अमूर्त पूँजीमा मूल्य अभिवृद्धिको हिसाबले बौद्धिक सम्पत्तिले चामत्कारिक भूमिका निर्वाह गर्छ किनभने सृजनशीलता, नवीनता, मौलिकता र उपयोगिताको दृष्टिकोणबाट बौद्धिक सम्पत्तिको अग्रगण्य स्थान रहन गएको छ । जस्तो आधुनिक पोशाकमा अलिकति नयाँ डिजाइन परिवर्तन गरिदिँदा युवाहरू दोब्बर मूल्य तिर्न तयार हुन्छन् । डिजाइन पनि एक प्रकारको बौद्धिक सम्पत्ति नै हो ।
प्राकृतिक स्रोतसाधन, श्रमबजार, भौतिक पूँजीको प्राचुर्य तुलनात्मक लाभका क्षेत्र, सरकारी सुविधाजस्ता पक्षले उद्योग व्यापारको विकासको लागि अनुकूलता प्रदान गर्न त सक्छन् तर नवीनतम प्रविधि र मूल्य अभिवृद्धिको निर्णायक तङ्खव भने बौद्धिक सम्पत्ति नै हुन्छ ।
बौद्धिक सम्पत्ति विदेशी लगानीको एक महत्त्वपूर्ण तत्त्व हो भने प्रविधि हस्तान्तरणको समग्र विषय हो । बहुराष्ट्रिय कम्पनीका नामहरू स्वदेशी टाठाबाठा उद्योगले ओगटेका छन् । ट्रेडमार्क पनि विदेशीले दर्ता नगरेको भनी विभागमा अन्धाधुन्ध स्वदेशीहरूको नाममा दर्ता गरिएको छ । अत: मुलुकमा बौद्धिक सम्पत्तिकोे संरक्षण सम्बन्धमा सुस्पष्ट ढङ्गको नीति र कानून नबोले पनि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण आउन नसक्नुको हो ।
पाचौं औचित्यमा अन्तरराष्ट्रिय वा वैदेशिक सम्बन्धलाई लिन सकिन्छ । यस्तो सम्बन्ध हाम्रो विभिन्न मुलुकसँगको दौत्य सम्बन्धको कारणले र हामी अन्तरराष्ट्रिय सन्धिसम्झौतामा आबद्ध भएकाले स्थापित भएको हुन्छ । जस्तो नेपालले फ्रान्स, जर्मन, यूके, मौरिसस, भारत, बंगलादेश, श्रीलंका, कतारलगायत धेरै मुलुकसँग यस्तो द्विपक्षीय लगानी सम्झौता गरेको छ । सबै लगानी सम्झौताको एउटा शर्त एकअर्को मुलुकको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नु रहेको हुन्छ । त्यस्तै नेपाल बीपो स्थापना गर्ने सन्धि, पेरिस महासन्धि, बर्न महासन्धि, विश्व व्यापार संगठनजस्ता बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नुपर्ने दायित्व भएका अन्तरराष्ट्रिय तथा बहुपक्षीय सन्धिसम्झौताको सदस्य रहेकाले पनि बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नुपर्ने दायित्व रहन गएको हो ।
छैटौं कारण हो– संरक्षण भए हीरा नभए कोइला हो, बौद्धिक सम्पत्ति । गहन अध्ययन, अनुसन्धान, सृजना वा आविष्कार गरेर कुनै नवीनतम बौद्धिक सम्पत्ति आर्जन गर्न अत्यधिक मात्रामा शीप, श्रम, पूँजी र समय खर्च गर्नुपर्ने हुन्छ । यसरी उत्पादन गरिएको वस्तु बहुमूल्य नहुने कुरै भएन । यसलाई सेफमा वा लकरमा राख्न सकिँदैन । यो वेबका रूपमा खुला आकाशमा जोसुकै व्यक्तिको पहुँचमा रहेकोे हुँदा चोरी हुने वा दुरुपयोग हुने सम्भावना अत्यधिक बढी हुन्छ । जब कसैले एउटा नौलो वस्तु बजारमा ल्याउँछ र उपभोक्तालाई मुग्ध पार्छ अनि सहस्र प्रतिस्पर्धीले त्यसैको नक्कल वा दुरुपयोग गरी जथाभावी त्यस्तै वस्तु उत्पादन गर्न थाल्छन् ।
एक त दुरुपयोग गर्नेले बौद्धिक सम्पत्ति सृजनाकोे लागत बेहोर्न नपर्दा त्यस्ता प्रतिस्पर्धीहरूले सक्कली उत्पादकलाई नै उछिन्ने सम्भावना रहन्छ भने अझ त्यसमा पनि उच्च स्केलमा उत्पादन, बजार पहुँच, वितरण सञ्जाल, व्यापार प्रवर्द्धन, अनुकूल स्थान र साधन स्रोतमा उच्च पहुँच भएको अवस्थामा उनीहरूले वास्तविक उत्पादनकर्तालाई सहजै पछार्न र निजलाई व्यवसायबाट नै हातधुने अवस्था सृजना गर्न सक्छन् । यस्तो अवस्थामा बौद्धिक सम्पत्तिको सृजना तथा उपयोग गरी नवीनतम प्रविधि प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने नवप्रवर्तनकारी व्यवसायीहरू निरुत्साहित हुने र बजार नराम्रोसँग विचलन हुने अवस्था सृजना हुन सक्छ । यस्तो अवस्था आएपछि बौद्धिक सम्पत्तिले आफ्नो महत्ता र मूल्य गुमाउँछ र हीरा हुनुपर्ने वस्तु कोइलासरह हुन्छ । यसको समाधान भनको केवल लगानीकर्ताको बौद्धिक सम्पत्ति प्रभावकारी संरक्षण हो ।
सातौं हो –स्वच्छ व्यापार र कारोबार । बौद्धिक सम्पत्ति भनेको फरक फरक स्वार्थ र भूमिका भएका जनसमुदायको सामूहिक प्रयासबाट खेलिने खेल पनि हो । ती समूहमा बौद्धिक प्रतिभा, उद्योग व्यवसायीको सञ्जाल, पेशागत समूह, प्राज्ञिक तथा अनुसन्धानमूलक संस्था, र सरकार मुख्य छन् । खेलका नियम पालना गरेर सहकार्य गरेमा सबैलाई फाइदा हुन्छ । कसैले बौद्धिक सम्पत्ति प्रयोगका नियमहरू उल्लंघन गरेर अनुचित लाभ लिन खोजे त्यस पक्षले तत्काल केही लाभ उठाए पनि कालान्तरमा सबै धराशयी हुन्छन् । अत: उचित संरक्षण गर्ने पद्धति स्थापित नभएको अवस्थामा जो कोही प्रतिस्पर्धीले त्यसको दुरुपयोग गरी वास्तविक लगानीकर्तालाई जोखिममा पार्न सक्ने सम्भावना स्पष्टै देखिन्छ । सतहीरूपमा विचार गर्ने व्यक्तिले भन्न सक्छन्– उपभोक्तालाई कम मूल्यमा वस्तु उपलब्ध हुन्छ भने अरूले प्रयोग गरेर के भयो त ? यस्ता क्रियाकलाप यथार्थमा सम्बद्ध धनीको लागि मात्र होइन उपभोक्त, समाज र देशका लागि पनि घातक हुन्छन् । एक त चोरीको माल, अझ त्यसमा पनि बौद्धिक चोरी, कम मूल्यमा वस्तु प्रयोग गर्न पाउनुको के अर्थ ? हलो काटी मुंग्रो गर्नुको के प्रयोजन ? अत: उचित संरक्षण गर्ने पद्धति र स्वच्छ कारोबार बहुजन हितायको मार्ग हो ।
अन्तिम औचित्य हो– राष्ट्रको आर्थिक समुन्नति । यसलाई उपर्युक्त सबै औचित्य वा कारण सम्बोधनको प्रतिफल पनि भन्न सकिन्छ । बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षण र त्यसको व्यावसायिक उपयोेगको भरपर्दो पद्धति विकास गर्नु र संस्थागत आधार निर्माण गर्नु सरकारको दायित्व हो । अन्यथा पुरातन उत्पादन पद्धतिबाट मुलुकको आर्थिक समृद्धि सम्भव छैन । प्राकृतिक स्रोतसाधन, श्रम बजार, भौतिक पूँजीको प्राचुर्य तुलनात्मक लाभका क्षेत्र, सरकारी सुविधाजस्ता पक्षले उद्योग व्यापारको विकासको लागि अनुकूलता प्रदान गर्न त सक्छन् तर नवीनतम प्रविधि र मूल्य अभिवृद्धिको निर्णायक तत्त्व भने बौद्धिक सम्पत्ति नै हुन्छ ।
बौद्धिक सम्पत्तिको प्रवर्द्धन, सृजना, संरक्षण र उपयोगको समष्टिपरक चिन्तनका साथ बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नुपर्ने मूलभूत कारण समग्रमा मुलुकको आर्थिक र सामाजिक लाभ अभिवृद्धि गर्नु हो । मुलुकको उत्पादन प्रणालीमा विभिन्न बौद्धिक सम्पत्तिको सदुपयोग गर्न सकेमा उत्पादनको गुणस्तर, परिमाणको वृद्धि हुने मात्र होइन मूल्य अभिवृद्धि समेत हुन गै आर्थिक समृद्धि सुनिश्चित हुन्छ । उपयुक्त आठैओटा कारणले बौद्धिक सम्पत्ति संरक्षण गर्नुको औचित्य पुष्टि हुन्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।