काठमाडौँ । भारतीय वायुसेवा कम्पनी एयर इन्डिया एक्सप्रेसले यही जेठ १८ गते (जुन १) आइतवारदेखि दक्षिण भारतीय शहर बेँगलुरुबाट काठमाडौँ सीधा उडान शुरु गर्ने भएको छ । एयर इन्डिया एक्सप्रेसले बेँगलुरु-काठमाडौँ दैनिक एउटा उडान गर्ने भारतीय अंग्रेजी दैनिक अखबार द इकोनोमिक टाइम्सले जनाएको छ ।
बेँगलुरुबाट एयर इन्डिया एक्सप्रेसको हवाईजहाज विहान ५:०५ बजे काठमाडौँका लागि उड्नेछ भने काठमाडौँबाट विहान ९:०५ बजे बेँगलुरुका लागि उड्नेछ ।
कम्पनीले उडानको टिकट विक्री गर्न थालिसकेको भन्दै उसको वेबसाइटसँगै अन्य प्रमुख बुकिङ माध्यमबाट काठमाडौँ उडानको टिकट लिन सक्ने जनाएको छ ।
उसले उडानको शुरुआती टिकट दर एक्सप्रेस लाइटका लागि भारु ८ हजार र एक्सप्रेस भ्यालूका लागि ८ हजार ५०० तोकेको छ ।
एयर इन्डिया एक्सप्रेसका प्रवन्ध निर्देशक आलोक सिंहले विज्ञप्ति जारी गर्दै बेँगलुरु-काठमाडौँ उडानले आफ्ना ग्राहकहरूलाई छुट्टी मनाउन बैंकक र फुकेट जस्तै निकट रहेका मनोरञ्जक गन्तव्यमा उडान विस्तार गरेको जनाएका छन् ।
कम्पनीको यो उडानले भारतभरिका अन्य २० शहरहरूबाट बेँगलुरु हुँदै हवाईयात्रीहरूलाई सीधा काठमाडौँ आउन सहज बनाएको छ । जसअनुसार हवाईयात्रीहरूले अमृतसर‚ भुवनेश्वर‚ दिल्ली‚ गोवा‚ ग्वालियर‚ हिन्डन‚ हैदराबाद‚ इन्दौर‚ जम्मु‚ जयपुर‚ कोजिकोडे‚ कोची‚ मङ्गलुरु‚ पुने‚ श्रीनगर‚ सुरत‚ तिरुचिरापल्ली‚ तिरुअनन्तपुरम‚ विशाखापट्टनम र विजयबाडाबाट बेँगलुरु एक ठाउँमा मात्र अडिएर उडानबाट काठमाडौँ आउन सक्ने छन् ।
एयर इन्डिया एक्सप्रेसले बेँगलुरुबाट विभिन्न ३१ ओटा गन्तव्य शहरहरूमा एक सातामा ४५० भन्दा बढी उडान भर्ने गर्छ ।