नयाँ दिल्ली (भारत) । भारतको चुनाव आयोगले शनिवार (हिजो) लोकसभा चुनावको मिति घोषणा गर्यो, जसअनुसार त्यहाँ सात चरणमा चुनाव हुनेछ ।
आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार त्यहाँ पहिलो चरणको मतदान आगामी अप्रिल १९ मा हुनेछ भने सातौं तथा अन्तिम चरणको मतदान जुन १ मा हुनेछ । यसैगरी दोस्रो चरणको अप्रिल २६ मा, तेस्रो चरणको मे ७ मा, चौथो चरणको मे १३ मा, पाँचौं चरणको मे २० मा र छैटौं चरणको मतदान मे २५ मा हुने भएको छ ।
पहिलो चरणको चुनाव २१ राज्यमा हुने भएको छ, जहाँ १०२ सिटका लागि प्रतिस्पर्धा हुने आयोगले जनाएको छ । यस्तै, दोस्रो चरणअन्तर्गत १३ राज्यमा ८९ सिटका लागि र तेस्रो चरणअन्तर्गत १२ राज्यमा ९४ सिटका लागि चुनाव हुँदैछ । यसैगरी, चौथो चरणअन्तर्गत १० राज्यमा ९६ सिटका लागि चुनाव हुँदा पाँचौं चरणअन्तर्गत ८ राज्यमा ४९ सिटका लागि उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको छ । छैटौं चरणअन्तर्गत भने ७ राज्यमा ५७ सिटका लागि र सातौं चरणअन्तर्गत ८ राज्यमा ५७ सिटका लागि चुनाव हुने आयोगले जनाएको छ ।
तीन राज्यमा भने सातै चरणमा चुनाव हुने भएको छ । आयोगका अनुसार उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा सातै चरणमा चुनाव हुन लागेको हो । यसैगरी, दुई राज्यमा भने पाँच चरणमा चुनाव हुने भएको छ, जसमा जम्मू कश्मीर र महाराष्ट्र छन् । तीन राज्यमा चार चरणमा चुनाव हुने आयोगले जनाएको छ, जसमा झारखन्ड, मध्य प्रदेश र ओडिशा छन् ।
असम र छत्तीसगढमा तीन चरणमा र राजस्थान, मणिपुर, कर्नाटक र त्रिपुरामा दुई चरणमा चुनाव हुन लागेको छ । यसैगरी गुजरात, तमिलनाडु, तेलंगाना, केरल, आन्ध्र प्रदेश, पंजाब, दिल्ली र हरियाणामा एकै चरणमा चुनाव हुने आयोगले जनाएको छ । बीबीसी