काठमाडौं । भारत–पाकिस्तानबीच जारी तनावका कारण भारतीय रुपैयाँ (भारू) कमजोर हुँदा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ (नेरू) पनि सस्तो हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि एक अमेरिकी डलरको खरीद मूल्य १३६ रुपैयाँ ८४ पैसा र विक्री मूल्य १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ । बिहीवार डलरको खरीद मूल्य १३५ रुपैयाँ ४३ पैसा र विक्री मूल्य १३६ रुपैयाँ ३ पैसा तोकेको थियो ।
बिहीवार अमेरिकी डलरको तुलनामा भारू २ वर्षयताकै कम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्, जसकारण नेरू पनि कमजोर भएको हो ।
भारू र नेरूबीच स्थिर विनिमयदर तोकिएकाले नेपालमा भारूको आधारमा डलरको मूल्य तय हुने गरेको छ, जसकारण भारू कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर हुने गरेको छ ।
तीन महीनाअघि नेपाली बजारमा प्रतिअमेरिकी डलर सर्वाधिक उच्च कायम भई एक सय ४० रुपैयाँ नाघेको थियो । भारत सरकारले बजेटमार्फत पूँजीगत लाभकर बढाएपछि अमेरिकी डलरको तुलनामा भारू कमजोर हुँदा नेरू पनि कमजोर भएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ डलरको तुलनामा भारू सस्तो भएपछि नेपाली रुपैयाँ पनि कमजोर हुुने बताउँछन् । यसबाट वस्तु तथा सेवा आयात र विदेशी ऋणको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नुपर्ने र महँगी समेत बढ्ने उनको भनाइ छ ।