चितवन। भरतपुर सिटी हलको निर्माण शुरू भएको तीन वर्षमा ५५ प्रतिशत मात्र काम पूरा भएको छ । पहिलो चरणको समय सीमा सकिएर यसको निर्माण दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमै काम सम्पन्न नभएपछि म्याद थपिएको हो । सघन शहरी तथा भवन निर्माण कार्यालय, भरतपुरका प्रमुख झपड थापाले सिटी हल निर्माणका लागि पहिलोपटक म्याद थपिएको बताए ।
उनका अनुसार निर्माणका लागि थपिएको समयसीमा २०८१ माघसम्म रहेको छ । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा परेको सिटी हल निर्माण मध्यम स्तरमा भइरहेको प्रमुखले बताए । ‘सम्झौतामै सिटी हल निर्माणको समयसीमा कम थियो, थप्नैपर्ने थियो, करीब एक वर्ष थपियो,’ उनले भने, ‘काम अब तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।’ सिटी हलको काम भइरहेको भए पनि सुस्त रहेको उनले बताए । निर्माण कम्पनीले पनि ठूलो भुक्तानी पाउन सकेका छैनन् ।
सघन शहरी तथा भवन निर्माण कार्यालय, भरतपुरका अनुसार कोरोनाको कहर, आर्थिक मन्दी, समयमै निर्माण सामग्री ल्याउन भएको समस्या, भुक्तानीमा ढिलाइलगायत कारण सिटी हलको काम पूरा हुन नसकेपछि म्याद थप भएको हो ।
सघन शहरी तथा भवन निर्माण कार्यालय, भरतपुरका अनुसार कोरोनाको कहर, आर्थिक मन्दी, समयमै निर्माण सामग्री ल्याउन भएको समस्या, भुक्तानीमा ढिलाइलगायत कारण सिटी हलको काम पूरा हुन नसकेपछि म्याद थप भएको हो । सिटी हलमा हाल फिनिसिङका साना काम भइरहेको छ । सिटी हल निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको हो ।
निर्माण कम्पनी र सघन शहरी तथा भवन निर्माण आयोजनाबीच २०७७ मङ्सिर १८ गते सिटी हल निर्माणका लागि सम्झौता भएको थियो । २७ महीनाभित्र निर्माण सक्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँमा सम्झौता भएको सघन शहरी तथा भवन निर्माण कार्यालय, भरतपुरले बताएको छ ।
भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालयपछाडि चार बिघा चार कठ्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ । म्याद थप भए पनि निर्माणको लागत भने बढेको छैन । सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ । सिटी हलमा प्रशासनिक कक्ष, पुस्तकालय, सूचना प्रविधि केन्द्र, अतिविशिष्ट कक्ष, फुडल्याण्डलगायत संरचना हुनेछन् । हलको अडिटोरियम ब्लकमा दुई हजार जना अट्न सक्छन् । सिटी हलमा तीन सय क्षमताको कन्फ्रेन्स हल, चारओटा भर्याङ, आकर्षक स्टेज र रिहर्सल कक्षसमेत हुनेछन् । २५० गाडी र ३०० भन्दा बढी मोटरसाइकल एवं साइकल अट्ने पार्किङको सुविधा रहनेछ । २०७७ माघ १७ गते सिटी हलको शिलान्यास भएको थियो ।