काठमाडौं । बीमा ऐन २०७९ को व्यवस्थाअनुसार ‘एक अभिकर्ता, एक बीमा कम्पनी’को प्रावधानले घटेको बीमा अभिकर्ताको संख्या पुन: बढ्न थालेको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ता अनुमतिपत्र प्रक्रियामा सहजीकरण गर्नुका साथै लघुबीमा कम्पनीहरूले पनि कारोबार शुरू गरेपछि अभिकर्ताको संख्या बढेको हो ।
प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा २ लाख ९६ हजार बीमा अभिकर्ताले अनुमतिपत्र लिएका थिए । तर, एक व्यक्तिले एउटा मात्र कम्पनीको अभिकर्ता बन्न पाउने व्यवस्था लागू भएपछि भने आव २०७९/८० मा अभिकर्ताको संख्या करीब ७ प्रतिशतले घटेर २ लाख ७७ हजार कायम भयो । चालू आवमा अभिकर्ताको संख्या पुन: बढ्न थालेको छ । चालू आवको चैतसम्ममा अभिकर्ताको संख्या ३ लाख ६ हजार पुगेको प्राधिकरणले जानकारी दिएको छ ।
लाइसेन्स नवीकरण गर्नेको संख्या कम भए पनि नयाँ लिनेको संख्या बढेको छ । गत आवसम्ममा लाइसेन्स लिएकामध्ये १ लाख ३३ हजार ७ सय ८० ले मात्र नवीकरण गरेका छन् । यस्तै चालू आवमा जीवन बीमा कम्पनीमार्फत १ लाख ७९ हजार ५ सय ८९ जनाले नयाँ अनुमति लिएका छन् । यस्तै निर्जीवन बीमा कम्पनीका लागि ८ सय ४८, लघु जीवन बीमाका लागि १ हजार ८५६ र लघु निर्जीवन बीमाका लागि ४१ जनाले अभिकर्ता लाइसेन्स लिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले गतवर्ष ७ ओटा कम्पनीलाई लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमति दिएको थियो ।
बीमा ऐन, २०७९ को दफा ९३ को उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को उस्तै किसिमको बीमकको बीमा अभिकर्ता भई काम गर्न नपाउने उल्लेख छ । तर, जीवन बीमा अभिकर्ताले निर्जीवन बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिन पाउने व्यवस्था ऐनमा छ ।
लघुबीमाको अभिकर्ताले भने एकभन्दा बढी कम्पनीमा अभिकर्ताका रूपमा काम गर्न सक्ने प्रावधान ऐनमा छ । बीमा ऐन जारी हुनुअघि एक व्यक्तिले समान प्रकृतिका दुईभन्दा बढी बीमा कम्पनीको अभिकर्ता भएर काम गर्दै आएका थिए । नयाँ ऐन लागू भएपछि प्राधिकरणले लाइसेन्स नवीकरण गर्दा एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध अभिकर्ताले अनलाइनमार्फत एउटा मात्र कम्पनी छान्न पाउने व्यवस्था गरेको थियो ।
यसैगरी नयाँ बीमा ऐनको व्यवस्थाअनुसार प्राधिकरणले परीक्षा लिएर मात्र अभिकर्ताको लाइसेन्स दिँदै आएको छ । बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा (२) मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने’ व्यवस्था छ । सोही प्रावधानअनुसार प्राधिकरणले अभिकर्ता लाइसेन्सका लागि अनलाइनमार्फत परीक्षा सञ्चालन गरिरहेको छ ।
ऐनको व्यवस्थाअनुसार प्राधिकरणले अभिकर्तालाई व्यवस्थित गरिरहेको प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘ऐनमा अभिकर्ताको परीक्षा लिएर एक व्यक्तिलाई एउटा कम्पनीका लागि मात्र लाइसेन्स दिने व्यवस्था छ,’ उनले भने, ‘सोहीअनुसार अभिकर्ताहरूलाई व्यवस्थित गर्न प्राधिकरण लागिपरेको छ ।’ प्राधिकरणले लाइसेन्सको परीक्षा र नवीकरण अनलाइनमार्फत गर्न सक्ने व्यवस्था गरेको छ ।