साओ पाउलो (ब्राजिल) । विश्वको सबैभन्दा ठूलो कुखुरा निर्यातकर्ता ब्राजिलको एक व्यावसायिक कुखुरा फार्ममा उच्च संक्रामक बर्ड फ्लुको संक्रमण देखिएको छ ।
गत शुक्रवार ब्राजिलको दक्षिणी नगर मोन्टेनेग्रो, पोर्तो अलेग्रे नजिकैको कुखुरा फार्ममा उक्त संक्रमण देखिएको त्यहाँको कृषि तथा पशुपालन मन्त्रालयले जनाएको छ । प्रभावित फार्मकोस्थान भने सार्वजनिक गरिएको छैन । स्थानीय अधिकारीहरूका अनुसार, प्रभावित फार्ममा करीब १७ हजार कुखुरा मरेका छन् ।
संक्रमण देखिएको क्षेत्रमा फैलावट नियन्त्रण गर्ने प्रयास शुरु गरिएको छ । संक्रमण देखिएलगत्तै रियो ग्रान्दे डो सु राज्यका अधिकारीहरूले फार्म वरिपरि ३ देखि १० किलोमिटर क्षेत्रभित्र ७ वटा जैव–सुरक्षा चेकपोइन्ट स्थापना गरेका छन् । ती अधिकारीहरूले गाडीहरूलाई डिसइन्फेक्ट गरिरहेका छन् भने जनावरहरूको निरीक्षण गरिरहेका छन् । त्यहाँको संघीय सरकारले ६० दिनको पशु स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरेको छ ।
यसैबीच, चीन, दक्षिण कोरिया, दक्षिण अफ्रिका, मेक्सिको, अर्जेन्टिना, चिली, उरुग्वे र युरोपियन युनियन सदस्यहरू लगायत देशहरूले ब्राजिलियन कुखुराको आयात निलम्बन गरेका छन् । ब्राजिलबाट कुखुरा आयातमा प्रतिबन्ध लगाउने देशहरूको सूची थप बढ्न सक्ने सम्भावना छ ।
चीनको निर्णयले मात्र ब्राजिललाई प्रतिमहिना अनुमानित १० करोड अमेरिकी डलर घाटा पुर्याउन सक्ने विज्ञहरूले बताएका छन् । सन् २०२४ मा, ब्राजिलले करीब १० अर्ब डलर कुखुरा निर्यातबाट आम्दानी गरेको थियो, जुन विश्वको कुखुरा व्यापारको ३५ प्रतिशत हो ।
इन्स्पेर एग्रो ग्लोबल का प्राध्यापक लिआन्ड्रो जिलियोे ब्राजिलले अब देशको अन्य क्षेत्रहरूबाट कुखुरा निर्यात गर्नुपर्ने बताउँछन् । साथै उनले प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रणको प्रयास भइरहेको बताए ।
‘यदि देशभर प्रतिबन्ध लाग्यो भने यो गम्भीर अवस्था हुन्छ । अधिकांश देशहरूले सामान्यतया संक्रमित क्षेत्र वा फार्मबाट मात्र आयात रोक्छन्, पूरै देशबाट होइन,’ जिलियोले भने, ‘अब ब्राजिलले नियन्त्रणमा रहेको प्रमाण दिनु आवश्यक छ ।’ एजेन्सीको सहयोगमा