काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । तर, पाकिस्तानबाटै छुट्टिएको बंगलादेशसँग भने भारतको व्यापार युद्ध चर्किएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले शनिवार एक सूचना जारी गरी भारतका विभिन्न स्थल भन्सार नाकाबाट तयारी पोशाकलगायत धेरै थरी बंगलादेशी वस्तुको भारत आयातमा प्रतिबन्ध लगाएको छ ।
भारतको फूलबारी नाकाबाट बंगलादेशी वस्तुको भारत आयात रोकिए पनि बंगलादेशबाट नेपालमा निर्यात नरोकिएको सूचनामा स्पष्ट पारिएको छ । नेपाल र बंगलादेशबीचको अधिकांश व्यापार फूलबारी–बंगलाबन्ध मार्गबाट हुन्छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपालको बंगलादेश निर्यात ३८ करोड ९३ लाख रुपैयाँ बराबर छ भने बंगलादेशबाट नेपालले ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सामान आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
- स्थल भन्सार नाकाबाट विभिन्न वस्तुको भारत निर्यातमा प्रतिबन्ध
- बंगलादेशी वस्तुको नेपाल निर्यातमा भने अवरोध नहुने भारतको स्पष्टोक्ति
तर, नेपाल र बंगलादेशबीचको व्यापार प्रभावित नहुने भनी भारतले आश्वस्त पारे पनि व्यवहारमा अवरोध आउन सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव तथा अन्तरराष्ट्रिय व्यापारविज्ञ रविशंकर सैंजूले बताए । ‘अब भारतले नेपालबाट जाने वस्तु र बंगलादेशबाट आउने वस्तुमा निगरानी बढाउने सम्भावना छ,’ उनले भने । ‘बंगलादेशले पनि भारतीय वस्तु नेपाल भएर आएको छ कि भनेर थप चेकजाँच गर्ने सम्भावना छ, जसका कारण नेपाल र भारतबीच हुने व्यापारको लागत बढ्न सक्नेछ ।’
दुई छिमेकीबीच जस्तालाई तस्तै व्यवहारअन्तर्गत भारतले लगाएको प्रतिबन्धबाट बंगलादेशको तयारी पोशाक, फलफूल, हल्का पेय पदार्थ, प्रशोधित खाद्य वस्तु (जस्तैः चकलेट, बेकरी र स्न्याक्स), कपास र कपासको धागो, प्लास्टिकका सामान र प्लास्टिक कच्चा पदार्थ र काठका फर्निचरको भारत निकासी प्रभावित हुनेछ ।
यो प्रतिबन्धबाट ७७ करोड अमेरिकी डलर बराबरको बंगलादेशको भारत निर्यातमा असर गर्ने ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ नामक थिंकट्यांकले बताएको छ । यसले बंगलादेशको ४२ प्रतिशत भारत निर्यातमा असर पर्ने इनिसिएटिभले जनाएको भारतीय अखबार इकोनोमिक टाइम्सले जानकारी दिएको छ ।
उक्त संस्थाको प्रतिवेदनअनुसार यो निर्णय भारतले बंगलादेशले भारतीय वस्तु आयातमा लगाएको प्रतिबन्ध र बंगलादेशको चीनसँग बढ्दो हिचमिचविरुद्ध लिएको देखिन्छ ।
यसअघि गत महीना भारतले आफ्ना केही स्थल भन्सार नाका हुँदै तेस्रो देशमा सामान निर्यात गर्न बंगलादेशलाई दिइरहेको अनुमति खारेज गरेको थियो । भारतले बंगलादेशलाई उसका सामान आफ्ना स्थल सुक्खा बन्दरगाह हुँदै भारतीय बन्दरगाह वा विमानस्थलबाट विश्वका अन्य भागमा पठाउन सक्ने गरी ‘ट्रान्ससिपमेन्ट’ सुविधा दिएको थियो । सन् २०२० को जुन २९ देखि बंगलादेशलाई दिँदै आएको उक्त सुविधा भारतले गत अप्रिल ८ देखि रोकेको हो ।
भारतको त्यस कदमविरुद्ध बंगलादेशले वैशाख पहिलो साता धेरै धागो, धूलो दूध, सुर्ती, न्युजप्रिन्ट, आलु, माछा, विभिन्न प्रकारका कागज र पेपरबोर्ड, रेडियो र टेलिभिजनका पार्टपुर्जा, साइकल र सवारीसाधनका पार्टपुर्जा, सेरामिक र सेनिटरिवेयर, स्टेनलेस स्टील, मार्बल र टायलका स्लाब, डुप्लेक्स बोर्ड, क्राफ्ट पेपरलगायत वस्तु भारतबाट आयात गर्न प्रतिबन्ध लगाएको हो । त्यसबेला ढाकाले नेपाल र भुटानबाट दुई थरी वस्तु आफ्नो मुलुकमा आयात गर्न रोक लगाएको घोषणा गरेको थियो ।
बंगलादेशको नेशनल बोर्ड अफ रिभेन्युले नेपाल र भुटानबाट हुने यार्न (धागो) र आलु आयातमा प्रतिबन्ध लगाए पनि नेपालबाट यी वस्तुको बंगलादेश निर्यात नगन्य छ । यसको अर्थ भारतीय वस्तुको आयातमा मात्र प्रतिबन्ध लगाइएको नदेखाउन सांकेतिक रूपमा नेपाल र भुटानको वस्तु आयातमा पनि प्रतिबन्ध लगाइएको व्यापारविज्ञ सैंजू बताउँछन् ।
भारत र बंगलादेशबीच व्यापार युद्ध त्यस्तो समयमा चलेको छ जतिबेला भारतले पाकिस्तानलाई दक्षिण एशियामा एक्ल्याउन बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन (बिमस्टेक) र बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) को अवधारणा अघि बढाउन प्रयत्न गरिरहेको छ ।
‘भारत र बंगलादेशबीच बिग्रँदो सम्बन्धले यी पहलमार्फत आर्थिक एकीकरण प्रयासमा आघात परेको छ,’ सैंजूले भने । बीबीआईएनअन्तर्गत मोटर भेहिकल सहमति भएको छ र यी देशलाई रेलवेमार्फत जोड्ने विषयमा पनि अध्ययन भइरहेको छ । ऊर्जाको क्षेत्रमा सहकार्य बढाउने प्रयासस्वरुप गतवर्ष नेपालबाट बंगलादेशमा पहिलोपल्ट भारतको बाटो हुँदै बिजुली निर्यात भयो । ‘यो बिग्रँदो सम्बन्धमा यी प्रयासहरूले निरन्तरता पाउने कुरामा आशंका उब्जेको छ,’ सैंजूले भने ।
भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई आफ्नो देशमा शरण दिएदेखि दुई देशबीचको सम्बन्ध चिसिएको हो । हसिना सन् २०२४ को अगस्तमा बंगलादेशका विद्यार्थीले चर्काएको आन्दोलनका कारण भागेर भारतको शरणमा गएकी थिइन् । बंगलादेशको नयाँ अन्तरिम सरकारले उनलाई सुपर्दगी गर्न भारतलाई आग्रह गरे पनि नयाँ दिल्लीले मानेको छैन । शेख हसिना भारतपरस्त नेतृका रूपमा चिनिन्छिन् । यसैबीच बिग्रिएको भारत र बंगलादेशको राजनीतिक सम्बन्धको असर व्यापारिक सम्बन्धमा पनि देखिएको हो ।