काठमाडौं । विद्युतीय सवारीसाधन निर्माता चिनियाँ कम्पनी सेरेस ग्रुपले नाफा सन् २०२५ को पहिलो त्रैमासिकमा १० करोड अमेरिकी डलर नाफा गरेको जनाएको छ । पहिलो त्रैमासमा सेरेसले २४१ प्रतिशत नाफा गरेको जनाएको छ ।
सेरेसका अनुसार कम्पनीको विक्री आम्दानी पनि पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको छ । आय विवरण सार्वजनिक भएपछि धितोपत्र बजारमा सेरेसको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।
विश्वव्यापी विस्तार रणनीतिअन्तर्गत सेरेसले सन् २०२६ भित्र नेपालमा नयाँ विद्युतीय सवारीका तीनओटा मोडेल ल्याउने घोषणा गरेको छ।
बजारमा आफ्ना नवीन, ऊर्जा-कुशल सवारीको माग बढेकाले विक्री आम्दानी बढेको उसको भनाई छ । प्रतिस्पर्धात्मक बजारमा समेत २४१ प्रतिशत मुनाफा गरेर सेरेसले आफूलाई चीनका धेरै नाफा कमाउने केहीमध्ये एउटा उन्नत गाडी निर्माता कम्पनीहरूको श्रेणीमा उभ्याउन सफल भएको जनाएको छ।
सेरेसले नवप्रवर्तन, दीगोपन र ग्राहकले मन पराउने डिजाइन गर्न कम्पनी प्रतिबद्ध रहेको र विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग तालमेल गरेर सवारीसाधन उत्पादन गरिरहेको जनाएको छ। यसबाट उत्साहित सेरेसले भविष्यमा अझ बढी रेन्ज, पर्फर्मेन्स र स्मार्ट फिचर भएका नयाँ गाडीहरू सार्वजनिक गर्ने योजना बनाएको पनि उल्लेख गरेको छ।
चीनको विलासी सवारी सेग्मेन्टमा पनि सेरेसले बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको दावी गर्दै सेरेस थ्री मोडेलले हालै इन्डोनेशियामा ३ प्रतिष्ठित अवार्ड जितेको जनाएको छ।