काठमाडौं । मंगलवार स्थिर बनेको नेप्से परिसूचक बुधवार भने १७ दशमलव ४४ अंकले बढेर बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ६९६ दशमलव ७८ विन्दुसम्म पुगेको थियो भने २ हजार ६६६ दशमलव ५० विन्दुसम्म झरेको थियो । अन्तिममा २ हजार ६९३ दशमलव शून्य ६ विन्दुमा नेप्से बन्द भएको हो ।
बजेटको पूर्वसन्ध्यामा लगानीकर्ता सरकारप्रति आशावादी देखिएको बुधवारको कारोबारलाई हेरेर अनुमान लगाउन सकिन्छ । यो दिन १४८ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ९७ कम्पनीको धितोपत्र मूल्य घटेको छ ।
यस दिन जनउत्थान सामुदायिक लघुवित्त र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर मूल्य भने स्थिर बनेको हो । बढेको बजारमा ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य १० प्रतिशत, पियोर इनर्जीको ९ दशमलव ९९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलव ८५ प्रतिशत र भूगोल इनर्जीको शेयरमूल्य ९ दशमलव १५ प्रतिशत बढेको छ ।
नयाँ कम्पनीको शेयर खरीदमा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढी हुँदा ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर मूल्य निरन्तर उच्च दरमा बढिरहेको छ । बुधवार बाराही हाइड्रोपावर र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य भने ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
बजारसँगै यो दिन कारोबार रकम पनि बढेको छ । मंगलवार ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँभन्दा बढीको १ करोड ४२ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बुधवार ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँभन्दा बढीको २ करोड ७ लाख ५९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
शेयर कारोबारका आधारमा आज नेप्सेमा सानो टुप्पी र लामो पुच्छर भएको हरियो मैनबत्तीको आकृति बनेको छ । यसले आगामी दिनमा बजारमा ‘ट्रेड रिवर्स’को संकेत दिन्छ ।
कुल कारोबारमा ङादी ग्रुप पावरको सर्वाधिक हिस्सा रहेको छ । यस कम्पनीको १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यो दिन ङादी ग्रुप पावरको शेयरमूल्य प्रतिकित्ता १० रुपैयाँ ४३ पैसाले बढेर अन्तिम मूल्य ३९८ रुपैयाँ कायम भएको हो ।
बुधवारको कारोबारमा बैंकिङ परिसूचकको १ दशमलव ८८ प्रतिशत र विकास बैंकको १ दशमलव २९ प्रतिशत बढ्दा वित्तको शून्य दशमलव १८ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ८१ प्रतिशत, जलविद्युतको शून्य दशमलव ८९ प्रतिशत, लगानीको शून्य दशमलव शून्य ३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६५ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ११ प्रतिशत र व्यापारिकको शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ ।
यस दिन लघुवित्त र निर्जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २४ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।
बुधवारको कारोबारमा कुल बजार पूँजीकरण २९ अर्ब ३ करोड ९९ लाख रुपैयाँले बढेको छ । मंगलवार ४४ खर्ब ५४ अर्ब ७६ करोड ४१ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण बुधवार ४४ खर्ब ८३ अर्ब ८० करोड ४१ लाख रुपैयाँ कायम भएको हो ।