चितवन। चितवनमा रहेका रुग्ण उद्योगको पुनरुत्थानका लागि उद्योग वाणिज्य संघ चितवनले सरकारसँग आग्रह गरेको छ । संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई सो आग्रह गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले देशको विकासमा उद्यमी व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने भन्दै आर्थिक समृद्धि र देशको व्यापार घाटा न्यूनीकरणका लागि सरकारले व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने बताए । उनले सरकारी क्षेत्रबाट उद्योग तथा व्यापार अनुगमन गर्दा निजी क्षेत्रलाई पनि सहभागी बनाउनुपर्ने माग राखेका थिए । कार्यक्रममा मन्त्री भण्डारीले दिगो सरकार नभएकाले उद्योगी व्यवसायीको पुनरुत्थान हुन नसकेको बताए । उनले उद्योगी व्यवसायीसँग सम्बन्धित नीति नियम निजी क्षेत्रको प्रतिनिधित्व विना संशोधन नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
आयातित कर्चा पदार्थबाट उत्पादित वस्तुले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उनले कच्चापदार्थका लागि देशकै स्रोतसाधनको प्रयोग गरी उद्योगको पुनरुत्थान गर्न सरकार प्रतिबद्ध रहेको बताए । कार्यक्रममा संघका पूर्वअध्यक्ष कल्याण जोशीले उद्योग व्यवसाय र नवीकरणमा एकद्वार प्रणाली लागू गरी कायम गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए । संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यस अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीका समस्या सम्बोधन हुने विश्वास लिएको बताए ।