काठमाडौं। नेपाल र भुटानको बैंकिङ तथा फिनटेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एशियन बैंकर र काठमाडौं फिनटेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
‘यस सम्झौतासँगै ट्याब ग्लोबलले काठमाडौं फिनटेकलाई नेपाल र भुटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिको रूपमा नियुक्त गरेको छ, जसले नेपाली तथा भुटानी बैंकिङ तथा फिनटेक प्रोफेसनललाई एशियन बैंकर, बैंकिङ एकाडेमी, ट्याव इनसाइट्स, वेल्थ एण्ड सोसाइटीजस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउनेछ,’ काठमाडौं फिनटेकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै ट्याब ग्लोबलका अध्यक्ष इम्यानुएल ड्यानियलले भने, ‘हामी काठमाडौं फिनटेकसँगको यो साझेदारीप्रति निकै उत्साहित छौं । नेपालको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा छ, यो प्रक्रियालाई ग्लोबल नलेज एक्सचेन्ज तथा नेटवर्किङले अझ मजबुत बनाउनेछ । हामी नेपाली तथा भुटानी वित्तीय संस्थालाई विश्वस्तरीय अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौं ।’
काठमाडौं फिनटेकका संस्थापक सञ्जिव सुब्बाले नेपाल र भुटानका बैंक तथा फिनटेक उद्योगको क्षमता अझ विस्तार गर्न ट्याब ग्लोबलजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्य कोसेढुंगा सावित हुने बताए । ‘ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा, तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भुटानी बैंकिङ प्रोफेसनललाई जोड्ने अवसर पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ उनले भने ।