काठमाडौं । विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरेका महिला उद्यमीलाई सम्मान गर्दै ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ बुधवार काठमाडौंमा सम्पन्न भएको छ ।
न्यू बिजनेश एज लिमिटेडले उद्यमशीलतामा लागेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको कदर गर्न सन् २०२१ देखि वर्षेनि यस्तो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रभु बैंक मुख्य प्रायोजक रहेको यस वर्षको कार्यक्रममा राष्ट्रिय र प्रदेश स्तरमा उत्कृष्टता प्राप्त गर्ने महिला उद्यमीलाई अवार्ड वितरण गरिएको छ । कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ र अन्य ६ विधामा महिला उद्यमी सम्मानित भए ।
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा भने सातै प्रदेशका एक–एक जना महिला उद्यमीलाई अवार्डका साथै जनही ५१ हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिएको छ ।
देशको नीतिनियमको पालना, समाज र अर्थतन्त्रमा योगदान, सार्वजनिक छवि र नवीनता तथा प्रविधि प्रयोगको आधारमा स्वतन्त्र निर्णायक मण्डलबाट उत्कृष्ट महिला उद्यमी छानिएको आयोजकले जानकारी दिएको छ ।
उक्त समारोहमा ‘व्यवसायमा महिलाको भूमिका पुनः परिभाषित गर्ने’ मूल विषयमा रहेर प्यानेल छलफलसमेत भएको थियो ।
तुलाधरलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड
‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ मा नेपाली फेसन उद्योगकी सूत्रधार ज्ञानीशोभा तुलाधर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छिन् ।
महिला उद्यमशीलता र नेपाली फेसन उद्योगमा पु¥याएको योगदानको कदरस्वरूप ज्ञानीशोभालाई उक्त सम्मान प्रदान गरिएको आयोजक न्यु बिजनेश एज लिमिटेडले जनाएको छ ।
काठमाडौंमा सन् १९५७ मे ७ मा जन्मेकी तुलाधर झन्डै ५ दशकदेखि नेपाली फेशन उद्योगमा सक्रिय छन् । सन् १९७० ताका एउटा सिलाइ मेसिनबाट उद्यम यात्रा शुरू गरेकी उनी नेपालकै पहिलो स्नातक तहको फेसन टेक्नोलोजी कलेज संस्थापक पनि हुन् ।
फेशन शिक्षाको आधारशिला बसाल्न उनले सन् १९९७ मा ‘नमुना इन्स्टिच्युट अफ टेक्नोलोजी’ स्थापना गरिन् । र, सन् २००२ मा ‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’ खोलिन् ।
उनी १०० भन्दा बढी नेपाली चलचित्रका पोशाक डिजाइनर, अन्तरराष्ट्रिय फिल्म ‘द लाइट ट्रेन टु काठमाडौं’ र फ्रेन्च फिल्म ‘यती’को पोशाक डिजाइनर पनि बनिसकेकी छन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक तुलाधरले भारतको महाराष्ट्रस्थित जापरकर कलेज अफ फेशनबाट फेशनका विषयमा उच्च शिक्षा लिएकी हुन् ।
उनी पूर्वाञ्चल विश्वविद्यालयको एकेडेमिक काउन्सिलकी सदस्य पनि रहिसकेकी छन् ।