काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनी विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ ।
विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा आज सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो । सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दाउन्ने एग्रो फार्म २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठूलो अण्डा उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीले ४ लाख लेयर्स कुखुराबाट प्रतिदिन १ हजार ७०० कार्टुन 'एन्टिबायोटिक फ्री' एवम् गुणस्तरीय अन्डा उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ ।
उक्त फार्मले भविष्यमा कुल ६ लाख कुखुराबाट प्रतिदिन २ हजार ६०० कार्टुन अन्डा उत्पादन गर्ने लक्ष्य राखेको छ । दाउन्ने एग्रो फार्म नवलपुर जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. ३, सर्दीमा अवस्थित छ ।
सो कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेड अन्तर्गतकाे नेपाल अपरच्युनिटी फन्ड– १ को समेत लगानी छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।