काठमाडौं । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणमा निकासन गरेको आईपीओ खरीद गर्ने जेठ १९ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र आईपीओ निष्कासन गर्न लागेको हो । आइतवार साझ ५ बजेसम्म १७ लाख २० हजार ३४३ जन आवेदकहरुले २ करोड ५ लाख ६८ हजार ८० कित्ता आईपीओ खरीद माग गरेका हुन । जुन मागभन्दा ६ गुणा बढी आवेदन रहेको हो । कम्पनीले ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।
कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था छ ।