काठमाडौं । दुई बीमा कम्पनीहरूले प्रस्ताव गरेको लाभांश जेठ २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश जेठ २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका हुन । यी दुबै कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा बोलाइसकेका छन् । नेशनल लाइफले असार ५ गते र एनएलजी इन्स्योरेन्सले जेठ २९ गते र्वाािक साधारण सभा बोलाएको हो ।
दुबै कम्पनीहरुले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ २२ गते एक दिन बुक क्लोज गर्न लागेका छन् । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुने भएका हुन । यस वर्ष नेशनल लाइफले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बोनस शेयर कर प्रयोजनका लागि छुट्टै शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव कम्पनीको छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यस्तै एनएलजी इनस्योरेन्स गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लख ५७ हजार रुपैयाँ रहेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ दशमलव ७९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।