काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रवार साँझ बसेको बोर्ड बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
यस वर्षको एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । गत वर्ष प्रकाशित नतिजामा भने ४७.८६ प्रतिशत ग्रेडेड भएका थिए ।
गत चैत ७ देखि १९ गतेसम्म चलेको उक्त परीक्षामा नियमिततर्फ ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ४८ हजार १७७ जना ३.६ देखि ४ जीपीए ल्याएका छन् । यस्तै, ८१ हजार ३८५ जनाले ३.२ देखि ३.६ जीपीए, ९९ हजार १२४ ले २.८ देखि ३.२ जीपीए, ४८ हजार ४७९ ले २.४ देखि २.८ जीपीए, ४ हजार १२६ ले २ देखि २.४ जीपीए र ८ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ ।