नेपालमा उत्पादित जुत्ता भारतमा निर्यातमा अवरोध हटेको केही समयमै अहिले फेरि प्लाइवुड निर्यातमा भारतमा अवरोध गरिएको छ । सिमेन्ट उत्पादनमा पनि अवरोध आएको थियो । गुणस्तर प्रमाणपत्र नदिने र त्यही बहानामा बारम्बार नेपाली निकासीलाई अवरोध गर्ने गरिएको छ । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र ठूलो व्यापार घाटा भएको मुलुक भारतमा सहज निर्यातको वातावरण बन्न सकेको छैन । बेलाबेलामा हुने गैरभन्सार अवरोधका कारण नेपाली निर्यातकर्ता ढुक्क हुन पाउने अवस्था बनेको छैन । त्यसैले नेपालले भारतसँग यस्ता अवरोध पटकपटक नआउने गरी केकस्तो काम गर्नुपर्ने हो त्यसतर्फ लाग्नुपर्ने देखिन्छ ।
अहिले भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)ले गुणस्तर प्रमाणपत्र नदिँदा नेपालका प्रमुख भन्सार नाकाहरूबाट प्लाइउड भारत निकासी बन्द भएको छ । विराटनगर, काँकडभिट्टा र वीरगञ्ज नाकाबाट प्लाइउडको निकासी रोकिएको हो । भैरहवा, कृष्णनगर र नेपालगञ्जबाट हुने निकासी यसअघि नै रोकिइसकेको छ । मेची भन्सार कार्यालयका अनुसार उक्त भन्सारबाट जाँचपास भएर भारतीय भन्सार पानीटंकी पुगेका प्लाइ बोकेका ३४ ओटा ट्रकको जाँचपास भएन । वीरगञ्ज नाकाबाट वीरगञ्ज, चितवन र महोत्तरीका चारओटा उद्योगले निकासी गर्दै आएकोमा फेब्रुअरी २८ यता निकासी हुन सकेको छैन । भारतले गत फेब्रुअरी २८ भित्र बीआईएस मापदण्ड पूरा गर्ने समय थपेको थियो । त्यसयता नेपाली उद्योगले आफ्नै उद्योगमा उक्त मापदण्डका लागि प्रयोगशाला र आवश्यक अन्य पूर्वाधार तयार गरे पनि भारतीय पक्ष अनुगमनमा नआएको उद्यमीको भनाइ छ ।
- वार्षिक रूपमा साढे ४ अर्ब रुपैयाँभन्दा बढीको तयारी प्लाइउड निकासी गर्दै आएको मुलुकका ७५ उद्योग संकटमा
- गुणस्तर प्रमाणपत्रको समस्याकै कारण भारतमा सिमेन्ट निर्यात पनि प्रभावित
- भारतीय नीतिका कारण निर्यात गर्न समस्या भएपछि उद्योग नै बन्द भएको इतिहास
भारतले प्लाइउड आयात रोकेपछि वार्षिक रूपमा साढे ४ अर्ब रुपैयाँभन्दा बढीको तयारी प्लाइउड निकासी गर्दै आएको मुलुकका ७५ उद्योग संकटमा परेको नेपाल प्लाइउड उत्पादक संघको भनाइ छ । केही वर्षअघिसम्म भारतीय प्लाइउडको भरमा रहेको नेपाली बजार पछिल्लो समय आत्मनिर्भर बनेको थियो । यस्तै गुणस्तर प्रमाणपत्रको समस्याकै कारण भारतमा सिमेन्ट निर्यात पनि प्रभावित भएको थियो । भारततर्फ मात्र होइन, चीनतर्फ झन यस्तो अवरोध बढी देखिन्छ । तातोपानी भन्सार नाकाबाट चीनले नेपालमा सामान आयात गर्न दिएको छ तर नेपालबाट निर्यात नै गर्न दिएको छैन । रसुवागढी नाकाबाट पनि निर्यात गर्न निकै समस्या भएको व्यवसायीको भनाइ छ । चीन दोस्रो ठूलो व्यापारिक साझेदार मात्र होइन, दोस्रो ठूलो व्यापारघाटा भएको मुलुक पनि हो । दुवैतिर ठूलो बजार भएकोले निर्यातको ठूलो सम्भावना छ भन्छौ तर दुवैसँग व्यापारघाटा सबैभन्दा धेरै छ ।
यी दुवै देशमा नेपालले धेरैभन्दा धेरै सामान निर्यात गर्न सक्नुपर्छ । दुवै देश नेपालका घनिष्ठ छिमेकी भएकाले तिनले नेपालको निर्यातलाई केही सहज बनाइदिनु पनि पर्छ ।
त्यसो त भारतसँग व्यापार सहजताका लागि विभिन्न सम्झौता नभएका होइनन् । तर, यी सबै भए पनि विभिन्न बहानामा निर्यातमा अवरोध हुने गरेको छ । नेपालका कतिपय उद्योग भारतमा निर्यात गर्ने लक्ष्यका साथ खोलिएका थिए । तर, भारतीय नीतिका कारण निर्यात गर्न समस्या भएपछि ती बन्द नै भएको तथ्य पनि यहाँनेर स्मरणीय छ । उदाहरणका लागि वनस्पति घ्यू उद्योगलाई लिन सकिन्छ । गैरभन्सार अवरोध हटाउन बलियो कूटनीतिक पहल आवश्यक हुन्छ । नेपाल भूसामरिक स्वार्थको शिकार हुने सम्भावना अत्यधिक छ । भारत र चीन परम्परागत रूपमा प्रतिस्पर्धी भएकाले तिनको प्रतिस्पर्धाको नकारात्मक असर भोग्न नेपाल बाध्य हुनु परेको छ । यो असर निर्यातमा परेको हैन, पूर्वाधारमा समेत परेको छ । चिनियाँ लगानीमा बनेको भनेर पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा भारतको सकारात्मक सहयोग पाउन सकिएको छैन । त्यस्तै भैरहवा विमानस्थल चिनियाँ ठेकेदारले बनाएको निहुँमा यसको सुसञ्चालनमा पनि भारतीय सोचाइ नकारात्मक छ ।
त्यसैले विभिन्न बहानामा भइरहने गैरभन्सार अवरोध पटकपटक नदोहोरियोस् भन्नेमा सरकार एकदमै चनाखो हुनुपर्छ । त्यसका लागि आर्थिक कूटनीति सबल बनाउनुपर्छ । व्यवसायीको गुनासो सार्वजनिक भएपछि मात्रै चासो दिने परिपाटी रोकिनुपर्छ ।