हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ का लागि रु २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । उपमहानगपालिकाका उपप्रमुख राजेश बानियाँले मंगलवार बसेको १७औं नगरसभामा आगामी आवका लागि आयव्यय अनुमान पेश गरेका हुन् ।
उपप्रमुख बानियाँले प्रस्तुत गरेको बजेटमा नगरस्तरीय पूर्वाधार विकासतर्फ रु ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमतर्फ रु ३२ करोड २५ लाख ६२ हजार छुट्याइएको छ । यसैगरी‚ आर्थिक विकासतर्फ रु ४ करोड ६९ लाख ७ हजार, शिक्षातर्फ रु ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ रु २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ रु २ करोड ५५ लाख उपमहानगरले छुट्याएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ६ करोड ५० लाख २० हजार र संस्थागत विकासतर्फ रु ६३ करोड ५४ लाख ९० हजार बजेट छुट्याइएको छ ।
बजेट खर्च बेहोर्ने स्रोतमा संघीय सरकारबाट प्राप्त हुने अनुदान रु १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट रु ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट रु ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानवापतको रु ११ करोड ४५ लाख ७५ हजार र नगर विकास कोषबाट ऋणवापत रु ३ करोड ६० लाख रहेको छ ।