काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकलाई सहज, सरल र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले मुद्दती निक्षेप धितोमा मोबाइल एपमार्फत नै कर्जा लिन सकिने नयाँ सेवा शुरु गरेको छ।
नयाँ योजनाअन्तर्गत ग्राहकले आफ्नै मुद्दती निक्षेपको ९० प्रतिशत वा न्यूनतम ५ हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा मोबाइल एप प्रयोग गरी लिन सक्नेछन् ।
ऋण स्वीकृत रकम सोझै ग्राहकको बचत खातामा जम्मा गरिने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस प्रक्रियामा कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन विभिन्न डिजिटल सेवा विस्तार गरिरहेको जानकारी दिएको छ ।
हालै मात्र ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गरेको यस बैंकले केही समयअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) सार्वजनिक गरेको थियो । साथै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र ‘सीआरएन’नम्बर लगायत सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ ।
देशभर ६१ जिल्लामा फैलिएको सिटिजन्स बैंकले २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखा रहित बैंकिङ इकाइमार्फत १९ लाख ७ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जानकारी दिएको छ ।