काठमाडौं । विश्व प्रसिद्ध कोरियाली अटो निर्माता हुन्डाईको गाडी अब नेपालमै एसेम्बल हुने भएको छ । नेपालका लागि दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी हुन्डाईको आधिकारिक विक्रेतासमेत रहेको लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो ।
दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षको अवसर पारेर उक्त कारखाना उद्घाटन गर्न लागिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार नवलपरासीस्थित हुन्डाईको एसेम्बलिङ प्लान्ट उद्घाटन गर्ने कार्यक्रम रहेको लक्ष्मी मोटर कर्पोरेशनले जानकारी दिएको छ । नेपालमा अन्तरराष्ट्रिय ब्रान्डको चारपांग्रे गाडी एसेम्बल गर्ने यो पहिलो कारखाना हुनेछ ।
कर्पोरेशनले ६ महीनादेखि नै उक्त प्लान्टबाट हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू गाडीको परीक्षण उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएसँगै भेन्यूको व्यावसायिक उत्पादन हुने बताइएको छ । नेपालमै एसेम्बल हुने हुँदा मूल्य केही सस्तो पर्न सक्ने अनुमान गरिएको छ ।
लक्ष्मी ग्रूपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादनको शुरुआत गर्न लागिएको बताए । शुरूमा भेन्यूको व्यावसायिक उत्पादन गर्ने, त्यसपछि आई १०, क्रेटा र आई २० मोडलका चारपांग्रे गाडी उत्पादन गर्दै जाने योजना रहेको उनले बताए ।
श्रेष्ठका अनुसार उक्त प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता ५ हजार ४०० थान छ । हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी उक्त प्लान्टमा नरहेको श्रेष्ठले स्पष्ट पारे ।
नेपालले चारपांग्रे र दुईपांग्रे सवारीसाधन आयातमा अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । बढ्दो बजारलाई दृष्टिगत गर्दै नेपालमा आधा दर्जन जति मोटरसाइकल एसेम्बल प्लान्ट स्थापना भइसकेका छन् । चारपांग्रेमा भने पनि १ दशकअघि नै हुलास मोटर्सले नेपालमा मुस्ताङ म्याक्स उत्पादन गरेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मुस्ताङ म्याक्स प्रयोग गरेपछि उक्त गाडीको व्यापक प्रचार भएको थियो ।
तर, प्रदूषण मापदण्डको कारण देखाउँदै उक्त प्लान्ट बन्द भएयता चारपांग्रेको एसेम्बल प्लान्ट नेपालमा सञ्चालनमा छैनन् । हुन्डाईको प्लान्ट सञ्चालनमा आएपछि तत्कालका लागि यो एउटा मात्र चारपांग्रे एसेम्बल प्लान्ट हुनेछ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेइङले हुन्डाई जस्तो बहुराष्ट्रिय कम्पनीले नेपालमै एसेम्बल प्लान्ट शुरू गर्दा कोरियाका अन्य कम्पनीलाई पनि नेपालमा लगानी गर्न प्रोत्साहन मिल्ने बताए ।
बुधवारको पत्रकार सम्मेलनमा कोरियाली राजदूतले एसम्बल प्लान्ट नेपालमै चारपांग्रे गाडी पूर्णरूपमा उत्पादन गर्नेतर्फको पहिलो पाइला हुनसक्ने बताए । ‘कोरियाले पनि एसेम्बल प्लान्टबाटै अटोमोबाइल उत्पादनमा लागेको हो र पछि आफै उत्पादन गर्न सक्षम भयो,’ राजदूत पार्कले भनेका थिए, ‘नेपालका लागि पनि एसेम्बल प्लान्ट शुरुआत हो र पछि आफै पूर्ण रूपमा उत्पादन गर्न सक्नेछ ।’
यसअघि कोरियाली कम्पनी मोट्रेक्सले सन् २०१९ मा नेपालमा कार एसेम्बल प्लान्ट खोल्ने घोषणा गरेको थियो । सन् २०२० को मार्चमा लगानी बोर्डले गाडी एसेम्बल प्लान्ट स्थापना गर्न १० अर्ब ५४ करोड रुपैयाँको लगानी स्वीकृत गरेको थियो ।
उक्त कम्पनीले ५० हजार थान विभिन्न थरीका चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य लिएको थियो । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा एसेम्बल प्लान्ट स्थापना गर्ने योजना कम्पनीले बनाएको थियो । तर, मोट्रेक्सले कर छूटलगायत विभिन्न सुविधा खोजेकाले यसको एसेम्बल प्लान्ट स्थापना अन्योलमै छ ।
नेपालमा चारपांग्रे एसेम्बल प्लान्ट व्यावसायिक रूपमा कति फलदायी होला भन्नेमा सराकारवालाहरू एकमत छैनन् । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले चारपांग्रे एसेम्बल प्लान्टको सफलताका लागि देशभित्र ठूलो मात्रामा गाडीको माग नहोला कि भन्ने स्थिति रहेको बताए । ‘सरकारको फेरिरहने कर नीति अर्को जोखिमका रूपमा रहेको छ,’ उनले भने ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा चारपांग्रे सवारीसाधनको एसेम्बल प्लान्टका लागि स्पेयर पार्टस् आयातमा ५ वर्षसम्म अन्त:शुल्क ५० प्रतिशतले र भन्सार २५ प्रतिशतले छूट दिने घोषणा भएको थियो । ‘पाँच वर्षमा १० प्रतिशत पार्टस् नेपालमै उत्पादन हुनुपर्ने भन्ने पनि छ,’ श्रेष्ठले भने, ‘हामीले थप केही सुविधा खोजेका छौं । त्यो पूरा भएमा १० प्रतिशत स्पेयर पार्टस् पुर्याउन सजिलो हुनेछ ।’
उनका अनुसार निश्चित प्रतिशत स्पेयर पार्टस् देशमै बनाउनुपर्ने भएकाले हुन्डाईको एसेम्बल प्लान्टबाट देशमा औद्योगिकीकरणलाई बढावा दिन पनि मद्दत पुग्नेछ । उनी भन्छन्, ‘यसबाट राम्रो संख्यामा रोजगारी पनि सृजना हुनेछ ।’