काठमाडौं । गरिब तथा विपन्न वर्गलाई समूहमा आवद्ध गराई वित्तीय पहुँच पुर्याउने लघुवित्त कार्यक्रमको प्रभावकारिताबारे प्रश्न उठिरहेका बेला सरोकारवालाहरूले भने कार्यक्रम असफल नहुने दाबी गरेका छन् ।
गरिबहरू इमान्दार हुने भएकाले लघुवित्तको ऋण असुलीमा समस्या नहुने भन्दै त्यसका लागि संस्थाहरूले मूल मर्म, सिद्धान्त र भाव बिर्सन नहुने उनीहरूको जोड थियो ।
लघुवित्त क्षेत्रको प्रवद्र्धनमा काम गरिरहेको संस्था स्वावलम्बन विकास केन्द्रले सामाजिक व्यवसाय दिवसको अवसरमा सोमवार आयोजना गरेको नेपाल कण्ट्री फोरम–२०८२ मा बोल्दै अध्यक्ष शंकरमान श्रेष्ठले गरीबहरू इमान्दार हुने भएकाले लघुवित्त सदैव सफल हुने बताए । उनले लघुवित्तले आफ्नो मूल मर्म, सिद्धान्त र भाव अनुसार अगाडि बढेमा असुली दर ९९ प्रतिशतभन्दा कम हुन नसक्ने बताए ।
साथै, उनले पढ्दै कमाउँदै, तीन शून्य क्लब र युवा स्वरोजगार जस्ता केडिट प्लस कार्यक्रमको प्रव द्र्घनमा लघुवित्त संस्थालाई थप जोड दिए । तर, बहुकर्जा, अधिक कर्जा, अस्वस्थ्य प्रतिस्पर्धा जस्ता समस्याले लघुवित्तमा विचलन आएको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले लघुवित्त संस्थाहरूले औपचारिक वित्तीय पहुँचबाट वञ्चित महिलाहरूलाई लक्षित गर्दै ऋण, बचत लगायतका आधारभूत वित्तीय सेवा प्रदान गर्दै आएको र यसबाट उनीहरूलाई साना उद्यम, कृषि तथा घरेलु उद्योगमा सक्रिय हुन उत्प्रेरित गरेको बताए ।
उनले लघुवित्तका आभारभूत सिद्घान्त र उद्देश्यलाई परिवर्तन नगरी नविनतम सोचहरू संस्थामा विकास र विस्तार गर्न जोड दिँदै लघुवित्त गर्ने संस्थाहरूलाई नाफामा भन्दा पनि सामाजिक सेवातर्फ केन्द्रित रहन सुझाव दिए ।
विश्वव्यापीरूपमा बढ्दो गरिबी, बेरोजगारी र वातावरणीय असन्तुलनका चुनौतीहरूलाई मध्यनजर गर्दै, युनूस सेन्टर, ढाका (बंगलादेश)को पहलमा सन् २०१० देखि प्रत्येक वर्ष सामाजिक व्यवसाय दिवस विश्वभर मनाइने गरिन्छ ।
यस अवसरमा सम्मेलनमा सहभागी देशहरूले आ–आफ्नो देशमा कण्ट्री फोरम आयोजना गर्दै आएका छन् ।
नेपालमा समेत विगतका वर्षहरू झैं केन्द्रले यस वर्ष पनि सामाजिक व्यवसाय दिवसको अवसरमा नेपाल कण्ट्री फोरम २०८२ आयोजना गरेको हो । कार्यक्रममा देशका प्रमुख लघुवित्त वित्तीय संस्थाहरू, गैरसरकारी संस्था, सहकारी संस्था तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।
फोरमको मुख्य उद्देश्य सामाजिक व्यवसायको अवधारणालाई प्रवद्र्धन गर्दै गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार, स्वास्थ्य सेवा र वातावरणमैत्री विकासका क्षेत्रहरूमा नीति निर्माण र सहकार्यको मार्गचित्र तय गर्नु रहेको आयोजकले जनाएको छ ।